माउन्ट एभरेस्टमा बाटो बनाउने निमा दोर्जी, 11औं पटक आरोहणको तयारीमा

0
1136
निमा दोर्जी शेर्पा।

दार्जीलिङ, 28 फरवरीः पर्वतारोहीहरूका लागि माउन्ट एभरेस्टमा बाटो बनाउने लोअर आलुबारी बस्तीनिवासी 36 वर्षे निमा दोर्जी शेर्पा 11औं पटक एभरेस्ट आरोहणको तयारीमा लागिपरेका छन्।

2006-देखि 2019-सम्म उनले 10 पटक माउन्ट एभरेस्टको सफल आरोहण गरिसकेका छन् भने आउँदो मार्च महिनामा पनि पुनः एभरेस्ट आरोहणका लागि नेपाल जाने तयारी गरिरहेको उनले बताए।

निमा दोर्जी शेर्पा दार्जीलिङका एक यस्ता पर्वतारोही हुन्, जसले माउन्ट एभरेस्ट आरोहण मात्रै होइन, एभरेस्टमा पर्वताराहीहरूका लागि बाटो बनाउने काम पनि गर्दै आइरहेका छन्। जुन सबैभन्दा गाह्रो काम हो।

यद्यपि, उनले वर्ष 2009-मा माउन्ट एभरेस्टको दक्षिण-पश्चिम क्षेत्रबाट बाटो बनाएर रोप (डोरी) जड़ान गरेका थिए भने 2012-मा दक्षिण दिशाबाट बाटो बनाउने कार्य गरेका थिए।

‘‘माउन्ट एभरेस्ट या अन्य कुनै पनि पर्वतमा आरोहण गर्नु सजिलो नै छ। तर, पर्वतहरूमा बाटो बनाउने कार्य गर्नु अत्यन्त कठिन हुन्छ’’, उनले भने, ‘‘तर यस कार्यमा म र मेरा भाइ मिङ्मा शेर्पाले काम गरिसकेका छौं।’’

उनका अनुसार आफ्ना भाइ मिङ्मा शेर्पाले वर्ष 2016-मा 6 दिनको अवधिमा 2 दुईपल्ट माउन्ट एभरेस्ट आरोहण गरेका थिए।

प्रथमपल्ट उनले एभरेस्ट बाटो बनाएका थिए। त्यसपछि बाटो बनाइसकेर बेस क्याम्पमा आई विदेशी पर्वतारोहीहरूलाई लिएर एभरेस्ट आरोहण गरेका थिए, जुन कार्य उनले 6 दिनमा पूर्ण गरेका थिए।

निमा दोर्जी शेर्पाले थपे, ‘‘पर्वतारोहीहरूका लागि एभरेस्टमा बाटो बनाउनु केवल गाह्रो मात्रै होइन, पूर्णरूपले जोखिम पनि छ। किनभने, बाटो बनाउँदा अलिकति पनि भूल भए, त्यसमा अन्य पर्वतारोहीहरूको ज्यान पनि जानसक्छ। यसैले अति नै गम्भीर बनेर एभरेस्टमा बाटो बनाउने कार्य गर्नुपर्छ।’’

आउँदो 4 मार्च महिनामा नेपालबाट प्रस्थान गर्ने पर्वतारोहीहरूको टोलीले सम्भवतः अप्रेल र मई महिनाभित्र एभरेस्ट आरोहण गर्ने योजना बनाएको पनि शेर्पाले जानकारी गराए।

उनले भने, ‘‘एभरेस्टबाट 27 मईभित्र कुनै पनि स्थितिमा पर्वतारोही टोली फर्किनुपर्छ। किनभने, यसपछि कुनै पनि पर्वतारोहीहरूलाई एभरेस्टमा आरोहण गर्ने अनुमति दिइँदैन। यसको मूल कारण 29 मई हिमपुरुष तेञ्जिङ नोर्गे शेर्पाको जन्म दिवस हो। तेञ्जिङ शेर्पाको जन्म दिवसको ठीक दुई दिनअघि पर्वतारोहीहरूले बेस क्याम्प पनि छोड्नुपर्ने नियम राखिएको छ।’’

यी पर्वतारोहीका अनुसार यसैले पर्वतारोहीहरू प्रत्येक वर्षको 27 मईभन्दा अघि मात्रै एभरेस्टमा आरोहण गर्न सक्छन्।

एक प्रश्नको उत्तरमा उनले भने, ‘‘अब शेर्पा समुदायको भावी सन्ततिले पर्वतारोहणको पेशा वा कामलाई जारी राख्ने सम्भावना धेरै कम्ती देखापरिरहेको छ। किनभने, मेरा दुईजना छोराले पर्वतारोहणमाथि कुनै चासो नै देखाउँदैनन् अनि उनीहरूले यसको सट्टा अन्य खेलहरूमा नै ध्यान दिइरहेका छन्। यसैले उनीहरूलाई जबर्जस्ती पर्वतारोहणमा नै ध्यान दिन कर लगाउन पनि सकिँदैन।’’

उनले थपे, ‘‘यति मात्रै होइन, अन्य युवावर्गले पनि पर्वतारोहणमाथि ध्यान दिएको जस्तो लाग्दैन।’’

यसैले हाम्रो समयका शेर्पाहरू जति छन्, उनीहरूपछि शेर्पा समुदायमा पर्वतारोहण गर्नेहरूको सङ्ख्या धेरै कम्ती भएर जाने सम्भावना रहेको पनि उनले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here