गान्तोक, २८ फरवरीः सिक्किमका भोटिया-लेप्चा समुदायको जमिन अन्य समुदायमा पञ्जीकरण नहुने नियम रहे तापनि हालै गान्तोकमा बीएलको जमिन रेसिडेन्सियल सर्टिफिकेट भएका मानिसका नाममा जिल्ला प्रशासनले पञ्जीकरण गरिदिएको भन्दै I am 371 F क्याम्पेनका कार्यकारी सदस्य सोनाम ग्याछो शेर्पाले यसमाथि विरोध जनाएका छन्।
सिक्किम सब्जेक्ट प्रमाण-पत्र अथवा डोमिसाइल धारक नै भए पनि उनीहरूलाई सिक्किमको शहरी तथा ग्रामीण क्षेत्रमा बीएलको जमिन बिक्री गर्न नमिल्ने प्रावधान रहे पनि सरकारले बीएल समुदायलाई सुरक्षा दिनको सट्टा जमिन आरसी धारकका नाममा पञ्जीकरण गर्नसक्ने आदेश दिएर जनादेशलाई धोका दिएको शेर्पाले आरोप लगाएका छन्।
पूर्वमा एसडीएफ सरकारले जारी गरेको अवैध अधिसूचनालाई सुधार गर्नको सट्टा एसकेएम सरकारले त्यसकै कमजोरीको फाइदा उठाएर बीएल समूदायलाई धोका दिने प्रयास गरेको उनले थप आरोप लगाएका छन्।
एसकेएम सरकारले पछिल्लो शासनको गल्तीलाई सच्याएर सिक्किमेली जनतालाई न्याय दिनेछ भन्ने जनतालाई विश्वास थियो भन्दै उनले आरसी धारकलाई बीएलको जमिनको पर्चा जारी गर्न सरकारी अनुमोदन दिएर जनताको जनादेशलाई धोका दिएको बताएका छन्।
प्रत्येक सिक्किमेली जनताले यस निर्णयको विरोध र निन्दा गर्नुपर्ने उनको भनाइ रहेको छ।
एसकेएम सरकारले यस गल्तीलाई समयमा सच्याउनुपर्ने उनले बताएका छन्।