गान्तोक, 28 मार्च : पछिल्ला 25 वर्षको कार्यावधिमा एसडीएफ पार्टीका सांसदहरूले सिक्किम र सिक्किमे जनताका विभिन्न मुद्दालाई संसदमा इमानदारीपूर्वक र प्रभावशाली ढङ्गमा उठाउनको सट्टा राज्यका मुख्यमन्त्री तथा एसडीएफ पार्टी प्रमुख पवन चामलिङको ‘चम्चागिरी’ मात्र गरेर बिताएको राज्यका प्रमुख विपक्षी दल एसकेएमका लोकसभा उम्मेदवार इन्द्रहाङ सुब्बाले आरोप लगाएका छन्।
बिहीवार जनसंवादसँग विशेष कुराकानी गर्दै सुब्बाले भने, “25 वर्षमा एसडीएफका सांसदहरूले संसदमा सिक्किम र सिक्किमे जनताका मुद्दाहरू के-कति उठाए भन्ने कुरा सबैलाई थाहा छ। एसडीएफका सांसदहरूले संसदभित्र पनि राज्यका मुख्यमन्त्री तथा एसडीएफ अध्यक्षको चम्चागिरी गर्न र उनलाई खुशी बनाउने काममै समय खर्चिए। यसको उदाहरण सांसद पीडी राईले पछिल्लो लोकसभा सत्रमा दिएको बयानलाई अघि राख्न सकिन्छ। दुई मिनट बोल्ने समय पाउँदा सांसद पीडी राईले राज्यका मुद्दाहरूबारे बोल्नको सट्टा एसडीएफ पार्टी छैटौंपटक सत्तामा आउने दाबी गरे। लोकसभा अध्यक्ष सुमित्रा महाजनले उनलाई यसपालि एसडीएफ सरकार सत्तामा आउँछ/आउँदैन भनेर प्रश्न त गरेकी थिएनन् होला। बोल्न पाएको दुई मिनटको समयमा सिक्किम र सिक्किमे जनताका मुद्दाहरू राख्नको सट्टा एसडीएफ पार्टी छैटौंपटक सत्तामा आउँछ भन्नु चम्चागिरीको पराकाष्ठा हो।”
सुब्बाका अनुसार एसडीएफ पार्टी न सिक्किम र सिक्किमे जनताप्रति प्रतिबद्ध छ, न त इमानदार नै। “यदि एसडीएफका सांसदहरूले सिक्किम र सिक्किमे जनताका मुद्दाहरूलाई संसदमा इमानदारपूर्वक उठाएको भए आज यस्तो अवस्था हुने थिएन।”
एसकेएमका लोकसभा उम्मेदवारले थपे, “एसडीएफका सांसदहरूले राज्य र राज्यवासीको हितविपरीत व्यक्तिगत स्वार्थपूर्ति र आफ्ना नेतालाई खुशी बनाउनमै समय खर्चिए।”
उनले 25 वर्षे एसडीएफ पार्टीको ‘एकपक्षीय’ शासनसँग वाक्कदिक्क भएका सिक्किमे जनता अहिले परिवर्तनका लागि आ-आफै सङ्कल्पित भएर अघि आइरहेको दाबी गरे। साथै जनताले नै यसपटक परिवर्तन चाहेकोले राज्यको सत्ता परिवर्तन हुने निश्चित रहेको ठोकुवा गरे।
“म मेरो जीतप्रति शतप्रतिशत विश्वस्त छु। साथै जनाकांक्षा नै राज्यमा सत्ता र व्यवस्था परिवर्तनको पक्षमा रहेकोले यसपालि एसकेएमले सरकार बनाउने पक्कापक्की छ”, उनले भने।
‘विकासको भ्रम फैलाएर राज्यवासीलाई दिग्भ्रमित पार्दै आइरहेको एसडीएफ’-ले संसदमा उठाउन नसकेका तथा थाँतीमा रहेका राज्यका मुद्दाहरू नै आफू सांसद निर्वाचित भएको खण्डमा इमानदारीपूर्वक संसदमा उठाएर यसबारे केन्द्र सरकारलाई पहल गर्न बाध्य बनाउने सुब्बाको थप दाबी छ। “सिक्किमका धेरैवटा मुद्दा थाँतीमा छन्। जनजातिको मान्यता पाउनबाट छोड़िएका 11 जातगोष्ठी, सिक्किम विधानसभामा नेपाली सीटको पुनर्बहाली र अन्य मुद्दाहरूलाई हामी संसदमा प्रभावशाली ढङ्गमा उठाउनेछौं। किनभने यी मुद्दाहरूको समाधानका लागि एसडीएफले कहिल्यै इमानदारीपूर्वक पहल गरेन। केवल जनतालाई ढाँट्ने काम गर्यो।”
एसकेएमका लोकसभा उम्मेदवार सुब्बाले सिक्किम र सिक्किमे जनताको विकास र सुरक्षामा एसडीएफ सरकार पूर्णरूपले विफल बनेको ठोकुवा गरे। उनले भने, “एसडीएफले जुन विकासको कुरा गर्दैछ, त्यो जनताका आँखामा धुलो हाल्ने कुरामात्र हो। 25 वर्षसम्म ‘व्यक्तिगत विकास’-मा भुलिएको एसडीएफले हामीलाई फेरि मौका दिनुहोस्, विकास गर्नेछौं’ भन्नु हास्यास्पद र लाजमर्दो कुरा हो। अब जनताले सबै कुरा बुझिसकेका छन्।”
उनको भनाइअनुसार 25 वर्षमा एउटा अस्पताल र राज्य विश्वविद्यालय बनाउनु भनेको विकास होइन। “एउटा अस्पताल र एउटा राज्य विश्वविद्यालय बनाएर एसडीएफले विकासको ठूल्ठूलो कुरा गर्दैछ। त्यो लाजमर्दो र हास्यास्पदबाहेक अरू केही होइन। जुन अस्पतालको ढोल पिट्दैछ, त्यहाँ पानी नै छैन। 25 वर्ष सत्तामा बसेको एसडीएफले यस्तो अस्पताल आज जिल्ला-जिल्लामा बनाइसक्नुपर्ने थियो। महाविद्यालयको अवस्था पनि राज्यवासीका आँखाबाट ओझेल भएको छैन”, उनले थपे, “माङ्सिला, गेजिङ र सोरेङ कलेजको अवस्था कस्तो छ, त्यो सबैलाई थाहा छ। सड़कहरूको अवस्था पनि यस्तै छ। आज केन्द्रको प्रधानमन्त्री ग्रामीण सड़क परियोजना सिक्किममा लागू नभएको भए एक किलोमिटर पनि सड़क खनिने थिएन। सिक्किम सीमा राज्य भएकोले यहाँको सड़कजस्तो हुनुपर्ने थियो, त्यस्तो 10 प्रतिशत पनि छैन। शिक्षा, स्वास्थ्य र यातायातको अवस्था राज्यमा सोचनीय छ। यस्तो अवस्थालाई एसडीएफले कसरी विकास भनेर ढोल पिट्दैछ? उनीहरूले नै जानुन्।”
यसअवसरमा उम्मेदवार सुब्बाले सिक्किम विश्वविद्यालयको क्याम्पस बनिनु यतिका समय लाग्नुमा एसडीएफ सरकारकै विफलता रहेको बताए।
साथै सिक्किम विश्वविद्यालय स्थापना हुनअघि नै सिक्किममा राज्य विश्वविद्यालयको आवश्यकता रहेकोले, तर यो आवश्यकतामा आँखा चिम्लेर बस्ने एसडीएफ सरकारका एक मन्त्रीले सिफारिश गरेको विद्यार्थीले सिक्किम विश्वविद्यालयमा भर्ना नपाउँदा एसडीएफ सरकारले ‘इगो’ राखेर राज्य विश्वविद्यालय स्थापना गर्न हतारिएको ठोकुवा पनि गरे।