दार्जीलिङ, 28 मार्च : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-सँगको गठबन्धनले असन्तुष्ट भएर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) -का समर्थकहरूले पार्टी त्यागेर विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -मा सामेल भइरहेका छन्।
बिहीवार विनयपन्थी गोजमुमोको दार्जीलिङ महकुमा कमिटीका प्रवक्ता सन्दीप छेत्रीले दाबी गरेअनुसार आज गोजमुमोसँगको गठबन्धनले असन्तुष्ट भएका धेरै गोरामुमो समर्थकले पार्टी त्यागेर विनयपन्थी गोजमुमोमा सामेल भए। गोरामुमो त्यागेर विनयपन्थी गोजमुमोमा सामेल हुनेहरूले विमल गुरुङको शासनमा लामो शासनसम्म अन्याय-अत्याचार सहेर पार्टीमा समर्पित भएर बसेको तर अहिले आएर त्यसै गोजमुमोसँगको गठबन्धन पच्य नरहेको बताएको पनि छेत्रीले जनाएका छन्।
सन्दीप छेत्रीले गरेको दाबीका अनुसार भाजपा उम्मेदवारको घोषणा भएलगत्तै विमलपन्थी गोजमुमोसँगको गठबन्धनले असन्तुष्ट भएका 200 घर गोरामुमो समर्थकले पार्टी त्यागेर विनयपन्थी गोजमुमोमा सामेल भएका थिए। यसैक्रममा आज चुङथुङका 30 घर गोरामुमो समर्थक पुनः विनयपन्थी गोजमुमोमा सामेल भएको दाबी छेत्रीको छ।
उनका अनुसार सामेल हुने सबै कट्टर गोरामुमो समर्थकहरू हुन्। अन्य धेरै गोरामुमो समर्थकले पनि पार्टी त्यागेर गोजमुमोमा सामेल हुने इच्छा प्रकट गरिरहेको पनि छेत्रीको दाबी छ।