पवन चामलिङ अभूतपूर्व नेता भएकोले उनले राज्यमा अभूतपूर्व कार्य गर्दैछन् : डीबी कटवाल

0
1981
चुनाउ प्रचार गर्दै समष्टि समष्टि पुगेका लोकसभा उम्मेदवार डीबी कटवाल।

गान्तोक,28 मार्चः एसडीएफका लोकसभा उम्मेदवार डीबी कटवालले दक्षिण सिक्किमको दुईवटा निर्वाचन क्षेत्र नामथाङ-रातेपानी र तिमी-नामफिङमा चुनाउ प्रचार गरेका छन्। नामथाङ बजारमा सम्पन्न चुनावी प्रचार सभामा नामथाङ-रातेपानीका एसडीएफ उम्मेदवार ब्रिजन तामाङको पनि उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै लोकसभा उम्मेदवार कटवालले भने,“दक्षिण सिक्किममा एसडीएफको जुन जग थियो, त्यो यथावत छ। नामथाङले एसकेएम अध्यक्षलाई 2014 मा हराएर सिक्किम बचाउने काम गरेको छ। यसचोटि पनि नामथाङलगायत दक्षिण सिक्किमका जम्मै सीट एसडीएफ पार्टीले जित्नेछ।”

उनले अझ भने, “एसडीएफ शासनकालमा सिक्किममा जुन विकास भएको छ, त्यो विकासलाई हेर्न नसक्नेहरूले मात्र अहिले एसडीएफको विरोध गर्दैछन्। एसडीएफको विरोध गर्नेहरू जम्मैको नामको अगाड़ि भूतपूर्व लागेको छ। तर, पवन चामलिङको अगाड़ि भूतपूर्व नलागेकोले मात्र उनीहरूलाई आरिस लागेको हो। पवन चामलिङको अघि कहिल्यै भूतपूर्व लाग्नेछैन। उनी अभूतपूर्व रहनेछन्।  अनि, अभूतपूर्व काम गरेर देखाउँदैछन्।”

सिक्किमको राजनैतिक मागहरूलाई पूरा गर्न केन्द्रमा एसडीएफको पक्षमा भोट दिन पनि अपील गर्दै उनले भने, “म लोकसभामा गएर केन्द्रले कहिले सहानुभूतिपूर्वक हाम्रा मागहरू पूरा गर्नेछ भनेर प्रश्न राख्नेछु। हामीले मात्र केन्द्र सरकारसमक्ष सहानुभूति राख्नुपर्ने हो कि केन्द्रले पनि हामीमाथि सहानुभूति राख्ने हो? यसको जवाब म खोज्नेछु।” यसैगरी, उनले तिमी-नाम्फिङको लोअर तनकमा पनि एउटा जनसभालाई सम्बोधन गरे।

यस सभालाई सम्बोधन गर्दै उनले भने,“तिमी-नाम्फिङमा एसडीएफलाई चुनौती छ भनेर राज्यभरि हल्ला फैलाउने काम हुँदैछ। तर, यथार्थमा यस्तो छैन। बीएस पन्त जस्ता धोकेबाज नेताहरू पुनः चुनावी मैदानमा आएर जनतालाई ढाँट्ने काम गर्दैछन्। बीएस पन्तजस्ता जातिवादी नेता सिक्किममा अर्को छैन। तिमी-नाम्फिङमा एसडीएफ कमजोर छ भनेर हल्ला फैलाउने बीएस पन्त हो। एसडीएफ नेता जीएम गुरुङले यो समष्टिमा अझै एकचोटि पुनः जितेर इतिहास कायम गर्नेछन्।”

तिमी-नाम्फिङका एसडीएफ उम्मेदवार जीएम गुरुङको प्रशंसा गर्दै कटवालले भने,“जीएम गुरुङ अरूजस्तो नेता नभएकाले जनताले उनलाई गाली गरेका हुन्। जहाँ जतिखेर जस्तो अवस्थामा पनि जीएम गुरुङले जनताको काम गर्छन्, जहीं पनि बसेर खान्छन्। खेत-खलियान, मलामी जहींतहीं पुगेका हुन्छन्। त्यसैले जनताले उनलाई गाली गरेका हुन्। अरू पार्टीका नेताजस्तो धाक बसेर बस्दैनन् उनी।”

लोकसभा उम्मेदवार डीबी कटवालले शुक्रबारदेखि एसडीएफ अध्यक्ष पवन चामलिङसँगै राज्यका विभिन्न ठाउँहरूमा जनसभामार्फत आफ्नो चुनावी प्रचार अघि बढ़ाउनेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here