जीटीएको म्याद घरी घरी बढ़ाउनु गणतन्त्रको हत्या होः लोप्साङ लामा

0
1296
लोप्साङ लामा (फाइल फोटो)।

दार्जीलिङ, २८ अप्रेलः  विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का कार्यकारी अध्यक्ष डा. लोप्साङ लामाले जीटीएको म्याद घरी घरी बढ़ाउनुलाई गणतन्त्रको हत्याको रूपमा अर्थ्याएका छन्।

बोडोल्यान्ड टेरिटोरियल एरिया डिस्ट्रिक्समा हिजोदेखि राज्यपाल शासन लागू गरिएको सन्दर्भलाई जीटीएसँग जोड़ेर प्रतिक्रिया व्यक्त गर्दै लामाले बङ्गाल सरकार र अहिले जीटीएमा बसेका नेतृत्वहरूले दार्जीलिङ पहाड़का सर्वसाधारण जनताको आकाँक्षालाई पैतालाले कुल्चेको आरोप लगाएका छन्।

बोडोल्यान्ड टेरिटोरियल एरिया डिस्ट्रिक्सको चुनाउ पछि सर्दा हिजोदेखि राज्यपाल शासन लागू गरिएको तर यता दार्जीलिङ पहाड़मा भने जनाकाँक्षालाई कुल्चिएर जीटीएको म्याद घरी घरी बढ़ाइरहेको उनले बताएका छन्।

‘जीटीए क्षेत्रका नेतृत्वहरू पनि चौकी, पद र शक्तिको प्रलोभनमा नपरेको भए आज हाम्रो स्थिति बेग्लै हुनेथियो भनेर किटान गर्नसक्छौं’, लामाले भनेका छन्, ‘२०१७ को जनान्दोलनमा नै सर्वसाधारण जनताले जीटीएको सम्झौता-पत्र जलाएका हुन्। खरानी पारेका हुन्। यसर्थ केही स्वार्थी तत्त्वहरूलाई हातमा लिएर बारम्बार जीटीएको म्याद बढ़ाउनु भनेको गणतन्त्रको हत्या गर्नु हो। जनाकाँक्षासँग खेलाइँची गर्नु हो।’

लामाले थप भनेका छन्, ‘बोडोल्यान्ड टेरिटोरियल काउन्सिलको नयाँ सम्झौता अनुसार ४ अप्रेलमा हुने चुनाउ कोभिड-१९ का कारण अनिश्चितकालका लागि पछि सरेपछि हिजो अर्थात् २७ अप्रेलका दिन बोडोल्यान्ड टेरिटोरियल काउन्सिलको म्याद समाप्त भएपछि त्यस क्षेत्रमा राज्यपाल शासन घोषणा गरिएको हो। बोडोल्यान्ड टेरिटोरियल काउन्सिलको म्याद बढ़ाउने प्रावधान हुँदाहुँदै पनि त्यहाँका जनता र नेतृत्वगणको दृढ़ इच्छाशक्तिका कारण आज त्यस क्षेत्रमा राज्यपाल शासन लागू हुन सम्भव भएको छ।’

उनले थप भनेका छन्, ‘आज हामीभन्दा कान्छो व्यवस्थाले राज्य निर्माणको यात्रामा हामीभन्दा धेरै लामो फड़्को मारेको हेरेर हाम्रो क्षेत्रका सर्वसाधारण जनता र नेतृत्ववर्गले धेरै कुरा सिक्नुपर्ने छ।’

यसैगरी विमलपन्थी मोर्चाका कार्यकारी अध्यक्ष लामाको दाबीका जीटीए क्षेत्रका लागि केन्द्र सरकारले वार्ता डाक्न बारम्बार कोशिश गरे तापनि राज्य सरकारको पक्षबाट नकरात्मक पहल भइरहेको छ।

यसैले केन्द्र सरकारको पहललाई राज्य सरकारले सकारात्मक दृष्टिले अवलोकन गर्नुपर्ने तथा जीटीए क्षेत्रका समस्याहरू चाँड़ोभन्दा चाँड़ो सम्बोधन गर्नुपर्ने उनले माग गरेका छन्।

अर्कोतिर लोप्साङ लामाले चुनाउ सर्दा बोडोल्यान्ड क्षेत्रमा राज्यपाल शासन लागू हुनुलाई ‘गणतान्त्रिक देशमा जनाकाँक्षा नै सर्वोपरि हो भन्ने सर्वोत्तम उदाहरण’ बताउँदै आफ्नो पार्टीको तर्फबाट त्यहाँका जनता र नेतृत्ववर्गलाई बधाई दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here