सिलगढ़ी, २८ अप्रेलः कोरोना सङ्क्रमित दुई नर्ससहित थप एकजना गरी कुल तीनजना स्वस्थ भएपछि अस्पतालबाट छुट्टी भएका छन्।
छुट्टी हुनेहरूमा तीनधारेनिवासी नर्स तथा सिलगढ़ीनिवासी नर्स र उनकी आमा रहेका छन्। उनीहरू केही दिनअघिदेखि मतिगढ़ास्थित डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा उपचाराधीन थिए।
उल्लेखनीय छ, उनीहरू तीनैजनाको टेस्ट दोस्रोपटक नेगिटिभ आएपछि आज राति अस्पतालबाट छुट्टी दिइएको हो।
उनीहरूको टेस्ट हिजो अर्थात् सोमवार बिहान पनि नेगिटिभ आएको थियो भने आज बिहान दोस्रोपटक रिपोर्ट नेगिटिभ आयो।
अर्कोतिर, सिलगढ़ीनिवासी नर्सका पति र दुईवर्षे छोरोलाई भने छुट्टी दिइएको छैन। प्राप्त जानकारीका अनुसार यी नर्सका पति र छोरोको टेस्ट पुनः पोजिटिभ आएको छ। हिजो बिहान पनि दुवैको रिपोर्ट पोजिटिभ आएको थियो। यद्यपि दुवैजनाको स्वस्थ स्थिर रहेको बताइएको छ।
स्मरणरहोस्, उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् यी दुवै नर्स कालेबुङनिवासी कोरोना सङ्क्रमित महिलाको सम्पर्कमा आएपछि सङ्क्रमित बनेका थिए। किनभने दुवै नर्स कालेबुङनिवासी ती महिलाको उपचारमा खटिएको मेडिकल टिममा सामेल थिए।