दार्जीलिङ, 28 अप्रेल: किशोर प्रधानले 24 वर्ष 7 महीना 16 दिनसम्म क्रामाकपाका लागि गरिरहेको यात्रा समाप्त गरे।
यसका साथै उनले पुनः क्रामाकपामा फर्किएर जाने सम्भावनामाथि पनि पूर्ण विराम लगाए।
“जातीय स्वाभिमानका लागि लड्ने पार्टीका कार्यकर्ता पनि स्वाभिमानी हुनपर्छ। यसैले पुनः पार्टीमा फर्किनु स्वाभिमानले पटक्कै दिनेछैन”, उनले भने।
आज क्रामाकपा केन्द्रिय समिति सदस्य एवं क्रामाकपा कालेबुङ आञ्चलिक समिति अध्यक्ष किशोर प्रधानले एक पत्रकार सम्मेलनको आयोजन गरी यस्तो घोषणा गरेका छन्।
स्मरण गराइन्छ, क्रामाकपा नेता किशोर प्रधानले यसपालिको विधानसभा चुनाउमा पार्टीले भाजपालाई सहयोग गरेको निर्णयको विरोध गरेका थिए, जसको फलस्वरूप दार्जीलिङ पहाड़का तीनवटा आसनमा मतदान प्रक्रिया समाप्त भएको केही दिनपछि पार्टी अध्यक्ष आरबी राईले किशोर प्रधानलाई पार्टीविरोधी कार्य गरेको बताउँदै उनीविरुद्ध अनुशासनात्मक कार्वाही गरिएको बताएका थिए।
यसका साथै प्रधानलाई पार्टीका विभिन्न पदबाट पनि बर्खास्त गरिएको घोषणा त्यस दिन राईले गरेका थिए।
यति मात्रै होइन, पार्टी अध्यक्ष राईले प्रधानलाई शीघ्रै सार्वजनिक रूपमा माफी माग्ने पनि निर्देश दिएका थिए। यसको प्रत्युत्तरस्वरूप आज प्रधानले दार्जीलिङ प्रेस गिल्डमा एक पत्रकार सम्मेलनको आयोजन गरी आफूले कुनै भूल नगरेको तथा माफी माग्ने प्रश्न नआउने बताए।
पार्टीसित रहेको सम्बन्ध आजदेखि समाप्त गरेको घोषणा गर्दै उनले भने, “क्रामाकपा 25 वर्षको उमेरमा पुगिसक्यो, अहिलेसम्म क्रामाकपा कुद्ने अवस्थामा पुगिसक्नु पर्नेथियो। तर, अझै पनि क्रामाकपाले अर्काकै सहारा लिनपर्ने अवस्था आइरहेको छ। यी सम्पूर्ण विषय मननयोग्य छ। पार्टीका सिद्धान्त, नीतिमा खोट रहेको कारण नै आज क्रामाकपाको अवस्था यस्तो भएको हो। यसविरुद्ध मैले धेरैपल्ट पार्टीभित्रै बसेर आवाज उठाएको हो, तर पार्टीको हितमा आवाज उठाउँदा आफै नराम्रो बनिएको छ।”
यति मात्रै होइन, पार्टीको वाट्सएप ग्रुपमा आफ्नो मनमा लागेका कुराहरू लेख्नसमेत आफूलाई वञ्चित गराइएको उनको भनाइ छ।
“पार्टीका यी क्रियाकलापहरूले मैले अपमान बनेको अनुभव गरेको छु, त्यसैले पार्टीमा बसिरहने कुनै औचित्य नै रहेन”, प्रधानले थपे, “वर्ष 2019-को लोकसभा चुनाउमा क्रामाकपाले भाजपालाई सहयोग गरेको हो। तर, त्यसै समय दार्जीलिङ विधानसभाको उपचुनाउमा पार्टीले भाजपालाई सहयोग नगरेको सबैलाई थाहै छ। किनभने, त्यस समय क्षेत्रीय राजनीति बचाउने विषयको पार्टीले वकालत गरेको थियो, तर यसपालिको चुनाउमा पार्टी आफैले लिएको निर्णय पार्टी आफैले उल्लङ्घन गरेको छ। के यो मेरो भूल हो कि पार्टीको?”
उनले थप प्रश्न गरे, “क्षेत्रीय पार्टी अनि क्षेत्रीय राजनीति बलियो हुनपर्छ भन्ने पार्टी क्रामाकपाले कसरी भाजपालाई बलियो बनाउने कार्य गर्दैछ?”
किशोर प्रधानले भारतीय जनता पार्टी स-साना राज्यको पक्षमा नरहेका थुप्रै प्रमाण रहेको बताउँदै भने, “मायावतीले आफू सत्तामा रहँदा उत्तर प्रदेशलाई चारवटा राज्यमा विभाजन गर्ने प्रस्ताव दिएकी थिइन्। उनको सत्ता हातबाट गएको केही वर्षपछि राज्यमा भाजपाको सरकार गठन भयो, तर उत्तर प्रदेशमा भाजपाको सरकार गठन भएपछि त्यहाँ 4 वटा राज्यको कुराकानी नै हराएर गयो। त्यसरी नै भाजपाको सरकार गठन भएपछि असममा पनि बोड़ोल्याण्ड राज्य गठनको कुरा हराएर गयो भने दार्जीलिङ पहाड़बाट पनि बिस्तारै गोर्खाल्याण्डको माग हराएर गइरहेको छ।”
यसैले गोर्खाल्याण्ड माग्ने पार्टीहरूले आफू बलियो हुनको सट्टा गोर्खाल्याण्ड दिन नचाहने पार्टीलाई नै बलियो बनाउने कार्य गरिरहेको उनको भनाइ छ।
“यो हाम्रो ठूलो भूल हुन जानेछ”, किशोर प्रधानले भने।