प्लास्टिकको आँटा

0
1505

विनीता छेत्री

अनिश्चितकालीन बन्दको घोषणा भएको पनि एकचालिसौं दिन आज। सबैमा उत्साह छ, छ्यासीमा भएको चालिस दिने बन्दको कीर्तिमान तोड़िएकोमा। सबैभन्दा ठूलो अचम्म – हामी बन्दको कीर्तिमान कायम गर्न चाहिरहेका थियौं कि आफ्नो अस्तित्वको लड़ाइँ लड़िरहेका थियौं? बन्द मात्र कहाँ हो र, आन्दोलन, नेता र जनता सबै नै अनिश्चित छन् यहाँ, हाम्रा भविष्य र अस्तित्वजस्तै।

अलिक बिसञ्चो भएर डाक्टर देखाउन भनी हिँड़ेकी म नाम लेखाएर उभिरहेकी छु, इडेन हस्पिटलको आउटडोरमा। डाक्टर कतिबेला आउँछ अथवा आउँछ/आउँदैन त्यो पनि निश्चित छैन। यस्तै चल्दैछ अहिले दार्जीलिङ।

बल्लतल्ल आइपुगेको डाक्टर सीधै भित्र पस्यो कसैलाई नहेरी, सबै बिरामीले लइनमा बसेर उसको किडनी मागेजस्तै बाह्र बजिरहेको अनुहार बोकेर।

स्किन टाइट कालो पेन्ट र हल्का पहेंलोमा अलि अलि रातो फूल भएको टप र बाहिरबाट सेतो सफा कोट लाएकी डाक्टरजस्तै देखिने तर डाक्टरचाहिँ होइन, सहायिका अथवा नर्स हुनुपर्छ, बाहिर निस्किएर एकछिन् हल्ला नगरिदिने अनुरोध गरी।

‘‘उभिएकोले खुट्टा भाँचिएला जस्तै भैसक्यो, फटाफट हेरिहाल्नु नि है, के साह्रो स्वाङ।’’

मेरो पछाड़ि बस्ने दिदी एक्लै भुत्भुताउन थाली, तर उसको जवाब कसैले दिएन। ‘हल्ला नगर्नू’ भन्ने आदेश सबैले मानेछन् कि क्या हो!

नम्बर एक, दुई, तीन गर्दै क्रमैसँग बिरामीलाई बोलाइयो। दैलोको छेउमा पुगेपछि मेरो मुख चिलाइहाल्यो। प्याच्च बोलिहालें – ‘‘आज त डाक्टर ढिलो आउनु भ त है, खास टाइम त एघार बजी होइन?’’ – घड़ी हेरेर – ‘‘एक बज्नु आँटेछ।’’ पनि भनिहालेँ।

‘‘पिकेटिङले रोकेछ पर रेलवे स्टेशनको छेउमा।’’

नर्सले पनि झिँजो नमानी जवाब दिई।

डाक्टरको पर्ची हातमा डल्लो पारेर मेरो लाइन लाग्ने पालो अब दवाई दोकानमा थियो।

भीड़ छ दोकान। नहोस् पनि किन र बिस्कुटदेखि लिएर सानोतिनो घरको सौदापात सबै पाउन थालेको छ, हिजोआज मेडिकल स्टोरतिर। अब दाल, चामल र सब्जीहरू राख्न मात्र बाँकी छ।

यस्तैमा माथिबाट नारा लगाउँदै ठूलो हुल झऱ्यो। तिनीहरूको जोश र उत्साह देखेर मलाई पनि बुरूक्क बुरूक्क उफ्रिँदै सीआरपीएफको अगाड़ि खुकुरी नचाउँ नचाउँ नलागेको चाहिँ होइन। फेरि पहिलेको आन्दोलन सम्झिएँ कि के सम्झिएँ कुन्नि, ‘आऽऽ होस्’ भनेर दवाई किन्नपट्टि व्यस्त भएँ।

किनिसकेर पैसा दिँदादिँदै बाटाअगाड़ि ड्याम्मै भयो मानिसहरूको भीड़। अलिक टाउके टाउकेजति माथि मञ्चमा चढ़ेर भाषण ठोक्न थाले। पहाड़े भाषण। एउटाले अर्कोलाई अर्कोले अर्कोलाई उफ्री उफ्री चिच्याइ चिच्याइ गाली गर्ने भाषण।

‘‘अब सिलगढ़ीबाट सबै राशिन पानी बन्द गर्ने धम्की दिँदैछ सरकारले। गोर्खा कहिले भोकले मरेको इतिहास छैन र मर्दैन पनि। त्यो प्लास्टिकको आँटा तैं खा। हामी बारीको मकै खाएर पनि बाँच्नेछौँ र अन्तिम साससम्म मुद्दाको निम्ति लड़्नेछौँ।’’ एकजना अलि नेताजस्तै देखिने मान्छेले भन्यो।

‘‘हो हो। जय गोर्खा!’’

भीड़ खुशी भएर पुरै दार्जीलिङ बजार घन्किने गरी ताली बजाउँदै चिच्यायो। कतिले त सुसेली पनि हाले।

‘‘पुरै पब्लिकलाई बन्दभरि खानु पुग्ने मकै लगाको छ क्या हौ यो मोराले?’’ मेरो छेउमा बैसाखीको सहारा लिएर भाषण सुनिरहेका, खुकुरीको ब्याज भएको कालो टोपी लगाएका एकजना एक्स आर्मीजस्तै देखिने व्यक्तिले मुसुक्क हाँसेर भने।

उनको कुरा सुनेर म पनि अलिकति हासेँ।

त्यतिबेला नै अर्को चढ़्यो मञ्चमा। विद्यार्थी मोर्चाको नेता रहेछ। फुच्चे नै भए पनि घोक्रो फुट्लाजस्तै चिच्याउने ट्रेनिङचाहिँ लिएकै रहेछ उसले पनि।

‘‘हाम्रो आन्दोलनलाई दबाउन नसकेर सरकारले प्लास्टिकको आँटा, प्लास्टिककै चामल, दाल, बनाएर गोर्खाकै अस्तित्व मेटाउने जाल बुन्दैछ। हामी ढेँड़ो र सिस्नो खाएर भए पनि हाम्रो भविष्यको निम्ति ज्यान दिन तयार छौँ। अब यो हातले कलम होइन खुकुरी पक्रनु पर्छ। ससाना भाइबहिनीहरूलाई अगाड़ि ल्याउनुपऱ्यो – अविभावकहरूलाई मेरो बिन्ती छ। अब हामी विद्यार्थीहरू पनि छातीमा तातो गोली खान तयार हुनपर्छ।’’

यस्तै अनेकथरी बोलिसकेपछि उसको पनि भाषण सकियो। चर्को ताली बजिरहेकोतिर हेरेर ऊ आफ्नो हात हल्लाउँदै सफल अभिनेताजस्तै मुसुमुसु हाँस्दै निस्कियो।

‘‘सरकारले आँटा प्लास्टिकको बनायो भने ढेँड़ो खाएर बाँच्छु भन्छ अहिलेका विद्यार्थी भनौदाहरू। ओठमा जुँगाको रेखी बसेको छैन कुरा गर्छ।’’ यसपल्ट ती म छेउ उभिने व्यक्ति निकै गम्भीर भएर गनगनाएको अनुभव गरेँ मैले।

अब पालो रहेछ नारीहरूको।

ढाकाको साड़ी, चौबन्दी चोली, कालो र सुनौलो रङको लाछाले कपाल बाटेकी, अगाड़ि निधार पनि अलिअलि केश झारेर बीचमा ठूलो रातो टीका लगाएकी। वक्षस्थलदेखि पेटसम्म पुग्ने लामो एकमुठा हरियो पोते, काली काली तर लिपापोती गरेर अलिक फुस्रो फुस्रो, हेर्दा यस्तै चालीस पैंतालिसको जस्तै देखिने डालिलो खाइलाग्दो जीउ भएकी दिदी मञ्चमा चढ़ेर हातले माइक आफूपट्टि तान्दै – ‘‘हामीलाई शोषण भएको छ…’’ भन्नथाली।

अब कसले, किन, कसरी, कतिबेला शोषण गऱ्यो केही नबुझी फेरि ताली र सुसेली बज्यो।

दिदी झन् मच्चिन थाली। कुरा छ्यासीको आन्दोलनको निस्कियो। भीड़बाट जोगिँदै घरको बाटो तताइरहेकी म फेरि त्यहीँ टक्क अड़िएँ। हाम्रा दँवलकाहरू छ्यासीको आन्दोलनबारे सुन्न खुब रुचि देखाउछौँ ‘रे!

‘‘त्यतिबेलाको आन्दोलन अहिलेको जस्तो दिउँसो एघार बजीदेखि एक बजीसम्म नारा लगाएर इस्कुसको मुन्टा च्यापी घरतिर गएर दिनभरि लुडो, तास र साँप-सिँड़ी खेलेर बिताएजस्तो सजिलो थिएन। तेरो आमा तँलाई भुँड़ीमा लिएर भाग्नु नसकेर भुइँमा बसेर ग्वाँ ग्वाँ रून्थी।’’ भर्खर बितेर जानुहुने हजुरआमा भन्नुहुन्थ्यो।

हजुरबाबा त झन् सानो टिनको माइक बोकेर सुके बजारमा दिनभरि नारा भट्टाएर राती भात खाँदैगर्दा दैलोमा ठिङ्ग उभिएको  सीआरपीलाई देखेर खिर्कीबाट हाम्फालेर भाग्दा बाँसको चोकेमा उनिएको नली खुट्टाको चोट दुखेर घरीघरी ज्वरो आउँदा थुप्रैपल्ट आफैले यही इडेन हस्पिटल लिएर आउनु पर्छ।

अझै छेउछाउमै बम पड़्केर कानै नसुन्ने, आँखै नेदेख्ने हजुरबाबाका दँवलेहरू पनि छन् गाउँतिर।

यस्तै कथाहरू सुनाउँछ होला भन्ने आशाले उभिएकी थिएँ बेकार भयो मेरो आशा। दिदी पनि भाषण घुमाउँदै-ओर्दै प्लास्टिकको आँटामै झरिन्। दिदीले त अझै मैदा पनि प्लास्टिककै आउनु थालेको, आफूले पानी हालेर ‘एक्सपेरिमेन्ट’ गर्दा लाबरजस्तो तन्केको तन्केकै भयो भनिन्।

त्यहाँ बसेर खासारखुसुर गर्ने पब्लिकहरू सँगसँगै मलाई पनि प्लास्टिकको आँटाको कुराको प्रभाव पर्न थाल्यो अब। कतिले भन्दैछन् –

‘‘होइन हौ मुछेको आँटा-मैदा जति पास उठ्यो त्यति तन्किन्छ नि अन्त।’’

अलिकति सकारात्मक सोच आउलाजस्तो हुन्छ।

‘‘थेत, होइन। फेसबुकभरि हालेको छ हरे सिलगढ़ीतिर।’’

अब भीड़देखि बिस्तारै अलगिँदै गरेको हुलसँग मिसिएर तेर्सैतेर्सो रेलवे स्टेशनतर्फ लाग्छु म। गाउँ-गाउँ, बस्ती-बस्तीबाट आएका मानिसहरू आफ्नो अस्तित्वको लड़ाइँको निम्ति पानी झरीसमेत नभनी लुथ्रुक्क भिजेर झोलाबाट कसैले सुक्खा रोटी, कसैले भुटेको भात खाँदैगरेको देखेर भित्र कताकता दुखेको अनुभव गर्छु।

‘‘यो पाली चैं केही होलाजस्तो छ। अरू अरू पार्टीले पनि सपोर्ट दिँदैछ।’’ भितामा ढेसिएर पानी पिउँदै गरेको एकजना अधबैँसे मान्छेले भन्यो।

‘‘पहिलेदेखि नै यस्तो एकता भा’को भा?’’

– अर्की एउटीले भनी।

‘‘हाम्रो एकता देखेर डराएर होला सालाहरूले खानेकुरामा पनि के के मिसाउनु थाल्यो हरे।’’ – हुलबाट कसैले थप्यो।

फेरि कुरा त त्यहीँ पुग्छ। मन मान्दैन। घर पुगेर लुगा पनि नफेरी आँटा मुछ्न थाल्छु। आँटा त ठिकै छ।

आँटालाई त्यतिकै छोड़ेर फेरि मैदा मुछ्न थाल्छु।

त्यो पनि ठिकै छ।

चुपचाप रोटी पोलेर सबैलाई दिन्छु। दिउँसोको भाषण सम्झँदै आफू पनि खान थाल्छु।

राति ओछ्यानमा पल्टिएपछि भीड़भित्र सुनेको त्यो प्लास्टिकको आँटा मेरो आँखाअघि चुल्लिन्छ। फेरि शङ्का लाग्छ हामीले खाएको त्यो आँटा पनि कतै प्लास्टिकको त थिएन?

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here