–योगिता राई
जुन दिनदेखि
असाधारण देखिने ढुङ्गालाई
भगवान् बनाइयो
र मन्दिरमा राखियो।
त्यै दिनदेखि-
मान्छेले आमा बिर्से र बाबु पनि।
सट्टामा ढुङ्गा पुजे।
आमाले देखाएका जम्मै जम्मै
बाटोका कुरा बिर्से।
बाउले थेगेका हरेक पाटोका कुरा बिर्से।
र
आफू खेलेर हुर्केका आँगन र माटोका कुरा बिर्से।
ढुङ्गालाई लगेर स्थापित गरे घरको सर्वोच्च धाममा
र
बा-आमालाई आश्रममा।
हो..
त्यै दिनदेखि-
मैले प्रत्येक बा-आमालाई
औंला ठऱ्याइरहेकी छु।
कड़ा स्वरमा यसो भन्ने गरेकोछु-
खबरदार!
मेरो छेउमा नरोऔ।
बरू गएर त्यो भगवानको भाग
खोसेर खाऊ।
(दार्जीलिङ)