हेप्पीभेल्ली चियाकमानमा फेरि समस्या, माग पूरा नभए श्रमिकहरू काममा नजाने

0
1106

दार्जीलिङ, २८ जूनः भोलि बिहान ७-७.३० भित्र चियाकमान प्रबन्धनपक्षले श्रमिकहरूका विविध मागबारे सकारात्मक पदक्षेप नउठाए हेप्पीभेल्ली चियाकमानका श्रमिकहरूले काम नगर्ने चेताउनी दिएका छन्।

हाल यस चियाकमानका श्रमिकहरूले 15 दिनमा पाउने 3 रोजी पाउन बाँकी छ। त्यस्तै अवकाशप्राप्त श्रमिकहरूको भविष्यनिधि कोष, ग्रेच्युटी आदिको रकम पनि नपाएको यहाँका श्रमिकहरूको आरोप छ।

यसै विषय लिएर आज (आइतबार) का दिन यस चियाकमानका श्रमिकहरूले बगानको कार्यालयअघि आएर धरना प्रदर्शन गर्न परेको चियाश्रमिकहरूको पक्षमा गोविन्द मुखियाले बताएका छन्।

 “यस चियाकमानका श्रमिकहरूले 3 रोजी साथै अन्य सहुलियतहरू नपाएको विरोधमा नै यहाँका पानी र बत्तीको काम गर्ने श्रमिकहरूले पनि आजदेखि काम नगर्ने घोषणा गरेका थिए। तर प्रबन्धकको बङ्ग्लो पानी र बत्ती उपलब्ध नभएपछि पुलिसमा उजुरी दर्ता गरिएको थियो’’, उनले थपे, “तब के यहाँका श्रमिकहरूले काम गर्नुपर्ने, कामको दाम नपाउने अनि दाम खोज्दै काम नजाँदा पुलिसमा उजुरी गरेर श्रमिकहरूलाई डर देखाउने कार्य गरिने? यसैकारण नै आज आइतबारका दिन पनि यहाँका श्रमिकहरू विक्षोभ प्रदर्शन गर्न अघि आउनपरेको हो।’’

मुखियाले भने, “यस चियाकमानका कुल २४ जना श्रमिकले अवकाश ग्रहण गरिसकेका छन्, तर उनीहरूले अवकाश ग्रहण गरेको १५ महिना बितिसक्दा पनि ग्रेच्युटीको पैसा पाएका छैनन्।’’

उनका अनुसार यी सबै विषय लिएर गत सोमबारका दिन मात्रै श्रमिकहरू र प्रबन्धकवर्गमाझ एक बैठक भएको थियो। उक्त बैठकमा प्रबन्धकले मङ्गलबारको दिन नै एक रोजी भुक्तान गरिने अनि रहल हिजो शनिबारभित्र भुक्तान गरिने वचन दिएका थिए।

यद्यपि यो वचन पूरा नभएको उनले थप बताए। “यसैले अब भोलि सोमबार बिहान ७ देखि ७.३० बजीभित्र चियाश्रमिकहरूको बाँकी रोजी, भविष्यनिधि कोषका साथै ग्रेच्युटी भुक्तानबारे सकारात्मक कुरा अघि नआए भोलिदेखि चियाश्रमिकहरू काममा जाने छैनन् अनि प्रबन्धकको कार्यालयअघि घेराउ शुरू गर्नेछन्’’, गोविन्द मुखियाले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here