दार्जीलिङ, २८ जूनः पछिल्लो बुधवारका दिन कोलकातामा सम्पन्न सर्वदलीय बैठकमा भाग लिएर भोलिपल्ट दार्जीलिङ फर्केका जीटीए बीओएका अध्यक्ष अनित थापा र गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले १४ दिनको होम क्वारेन्टाइन बसेर सरकारी निर्देशलाई पालन गर्नुपर्ने अनुरोध विमल गुरुङपन्थी गोजयुमो अध्यक्ष प्रकाश गुरुङले गरेका छन्।
यी दुवै नेतृत्वले तर यस्तो नगरेर सरकारी निर्देशको उल्लङ्घन गरिरहेको उनले बताएका छन्।
आइतबार एक प्रेस विज्ञप्ति जारी गरी प्रकाश गुरुङले भनेका छन्, ‘म गोर्खा जनमुक्ति युवा मोर्चाका अध्यक्षको हैसियतमा ती नेतृत्वहरूलाई १४ दिनको होम क्वारेन्टाइन बसेर समाजका लागि उदाहरण बनिदिने निवेदन गर्दछु।’
यसका साथै उनले दुवैलाई साधारण जनताको जीवनसँग खेलाइँची गर्न नहुने पनि बताएका छन्।
‘नियम-कानून भनेको सबैलाई बराबर हो भन्ने सन्देश सर्वसाधरणलाई दिनका लागि तपाईहरू १४ दिनका लागि होम क्वारेन्टाइनमा बस्नु जरुरी छ – यो कुरा मानिलिनुहोस्‘, प्रकाश गुरुङले थप भनेका छन्।
विज्ञप्तिमा उनले थप बताएअनुसार होम क्वारेन्टाइनको सरकारी नियमलाई उल्लङ्घन गरी गलत कार्य गरिरहेका छन्, जुन कार्यले आम नागरिकहरूको ज्यान जोखिममा पर्न गएको छ।
‘सर्वदलीय बैठकमा उपस्थित भएर दार्जीलिङ पहाड़ फर्केपछि उनीहरू वर्तमान कोभिड-१९ महामारीका लागि सरकारले जारी गरेको दिशानिर्देशअनुसार १४ दिनको होम क्वारेन्टाइमा बस्नु एकदमै जरूरी कुरा हो’, गुरुङले भनेका छन्।