सिलगढ़ी, 28 जुलाई : डिटेक्टिभ विभागले आइतवार शहरको एक फ्ल्याटमा चलिरहेको देह व्यापारको भण्डाफोर गरेको छ। यसका साथै 6 महिला र 4 पुरुषसहित कुल 10 जनालाई पक्राउ गरेको छ। उल्लेखनीय छ, पछिल्लो 3 जुलाईको दिन पनि शहरको बाघजतिन क्षेत्रस्थित एक फ्ल्याटमा चलिरहेको देह व्यापारको धन्धाको भण्डाफोर भएको थियो भने त्यसबेला 13 महिला र तीनजना पुरुष पक्रा परेका थिए। आज करिब 24 दिनपछि डिटेक्टिभ विभागका अधिकारीहरूले हकिमपाड़ास्थित एक फ्ल्याटमा छापामारी गरी उक्त देह व्यापारको भण्डाफोर गरेका हुन्। विभागका अनुसार उक्त फ्ल्याटमा लामो समयदेखि देह व्यापारको धन्धा चलिरहेको छ।
विभागका अधिकारीहरूका अनुसार उक्त फ्ल्याटमा अनैतिक धन्धा चलिरहेको गोप्य सूचना प्राप्त भएको थियो। त्यसपछि अनैतिक तस्करी अधिनियमका दिशा-निर्देशनपछि महिला कर्मचारीसहित एक टीमलाई उक्त फ्ल्याटमा छापामारी गर्न पुगेको थियो। टीमले फ्ल्याटका चारवटा कोठामा आपत्तिजनक अवस्थामा पुरुष एवं महिलाहरूलाई पायो। अधिकारीहरूका अनुसार यो देह व्यापारको धन्धाकी मुख्य आरोपी सावित्री घोषसहित पक्रा परेका पुरुष ग्राहकहरूलाई थप केरकार र छानबिनका लागि पुलिस हिरासतमा लिइएको छ। पक्रा परेका सबैलाई आज सिलगढ़ी अदालतमा प्रस्तुत गरिएको थियो।
एक अधिकारीले बताएअनुसार सावित्री घोषले विभिन्न स्थानका महिलाहरूलाई यो काममा राखेकी थिइन्। उनीहरूलाई धेरै पैसा दिने लालचमा अनैतिक गतिविधिमा सामेल गर्नेगर्थिन्। छापामारीअवधि डिटेक्टिभ विभागको टीमले टिनको बक्साबाट 66,000 रुपियाँ पनि बरामद गरेको छ। केरकारअवधि मुख्य आरोपी सावित्रीले महिलाहरूलाई अनैतिक कार्यमा लगाएर पैसा कमाउँदै आएको स्वीकार गरेको पनि बताइएको छ। विभागका अनुसार यो सङ्गठित अपराध हो। साथै यो धन्धामा थप अन्य व्यक्तिहरू पनि सामेल रहेको हुनसक्ने आशङ्का गरिएको छ।