छुट्टै राज्यको मागदेखि हामी पछि नसरौं

0
1030

-प्रताप खाती

छुट्टै राज्य गोर्खाल्याण्डका लागि आफ्नो प्राणको आहुति  दिइएको यो दिन मेरा लागि शहीद दिवस स्मरणीय छ। तर, हामी ती शहीदहरूका सपना पूरा गर्न बारम्बार असफल भइरहेका छौँ।

यो असफलता पछिका कारणहरू धेरै छन्- पहिलो त हाम्रा नेतृत्वहरूका अस्थिर आचरण, व्यवहार अनि दृढ़ सङ्कल्पको कमी, प्रतिबद्धता र अस्पष्ट दृष्टिकोण मुख्य रूपमा छन्।

दोस्रो, हाम्रा समाजका विद्वतवर्ग र बुद्धिजीवीहरू स्वकेन्द्रित र मतलबी छन्। जब जब राज्य सरकारले कुनै जाबो व्यवस्था दिने गर्छ, तब जान्ने बुझ्नेहरू नै  सरकारी व्यवस्थामा झम्टिन पुग्छन्। ती व्यवस्थाहरूका संवैधानिक मान्यता र गरिमा कसैले ख्याल गर्दैनन्। हामी मालिक बन्नु होइन तर चौकीदार बन्नु नै तम्सिन्छौँ। कहिले काहीँ त वर्तमान राजनीतिक अवस्था देख्दा रातभर मलाई निद्रा लाग्दैन।

पूर्ण हुननसकेको शहीदको बलिदान, हाम्रो सङ्कीर्ण विचार, सिद्धान्तविहीन राजनीति, विचार शून्य नेतृत्व, मतलबी बुद्धिजीवीहरू अनि काँचो अविवेकी भीड़ देख्दा दु:ख लाग्छ। झन् उनीहरूले साँचो नेतृत्व, दृढ़ सङ्कल्प र निस्वार्थ मन भएका, दूरदर्शी उत्साही नेतृत्हरूलाई साथ नदिएको देख्दा यो पीड़ा दोब्बर हुन्छ। यसकै कारण हामी यो स्वाभिमानको लडाइँ हारेको हारेकै छौँ।

सन् 1986-को आन्दोलनपछि हामीले सिलगढ़ी, मतिगढ़ा, नक्सलबारी र सम्पूर्ण डुवर्स गुमायौँ।  त्यसरी नै सन् 2007-को आन्दोलनपछि त झन् डुवर्सको पुरै भाग गुमायौँ अनि साधारण कर्मचारी पनि आफै नियुक्त गर्न नसक्ने असंवैधानिक राज्यभित्रको व्यवस्था ल्यायौँ।

बाहिरबाट आउने र यतै स्थायी भएर बस्नेहरूको सङ्ख्या बढ्दो छ।

म पुनः गोरामुमो पार्टीलाई छैटौँ  अनुसूचीको माग छोड़िदिने अनुरोध गर्दछु, कारण हाम्रा शहीदहरूले छैटौँ अनुसूची होइन छुट्टै राज्यका लागि आफ्ना प्राण दिएका थिए। हाम्रो लक्ष्य लिएर हामी दिग्भ्रमित हुनुहुँदैन। छुट्टै राज्यको मागबाट छैटौँ अनुसूचीतिर आँखा नहेरौँ।

गोजमुमोलाई पनि अनुरोध गर्छु, आफ्ना विगतका भूल हेरेर आफैलाई सच्याउनु होस्। सामुहिक नेतृत्वलाई पर पन्साएर जातीय हितलाई ध्यानमा राखेर एक्लो कुद्ने बानी छोड्नु होस्। एक्लो कुद्दा सन् 2011-मा थापेको जीटीए व्यवस्था हेर्नुहोस्, पुरानै दागोपापभन्दा पनि सानो व्यवस्थामा जाकिनुपरेको स्मरण गर्नुहोस्।

बुझ्नु होस् न! एउटा टाउकोभन्दा दुईवटा टाउको प्रभावी नै हुन्छ। हाम्रो देशको संवैधानिक संरचनाभित्रै मान्यता प्राप्त छुट्टै राज्यको माग सपनालाई साकार बनाऔँ अनि यो मागमा अडिग बसेकाहरूसँग हातमा हात मिलाऔँ। साँचो कुरा राखौँ!

अखिल भारतीय गोर्खालीगको पक्षबाट म आश्वस्त गराउन चाहन्छु- हामी शहीदको सपना पूरा गर्दै सम्पूर्ण जातिलाई मुक्ति दिलाउने प्रयासमा छौँ। हामी भारतको संविधानभित्र आफ्नो  स्वाभिमान फर्काएर ल्याउने अनि आफ्नै राज्य, आफ्नै मुख्य मन्त्री र आफ्नै शासन ल्याउने प्रयासमा छौँ।

आफ्नो  सुविधा अनुसार विगतमा भएजस्तो हामी हाम्रो मागदेखि पर सर्नेछैनौँ। यो हाम्रो प्रतिबद्धता हो। यसैले आजको यो पुण्य दिनमा हाम्रा शहीदहरूका आत्माको निम्ति ईश्वरसँग प्रार्थना गरौँ अनि उनीहरूको आशीर्वादले पूर्ण भएर हामी हाम्रो प्रतिबद्धता, साहस र  दृढ़ सङ्कल्पलाई छुट्टै राज्यको मागतर्फ सचेत भएर एकपल्ट फेरि जोड़िऔँ।

शहीद अमर रहून्!

(प्रताप खाती अखिल भारतीय गोर्खा लिग (प्रताप गुट)-का महासचिव हुन्।)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here