स्टेयरिङ कमिटी चाँड़ो गठन गरी त्रिपक्षीय वार्ता यथाशीघ्र हुनुपर्छः गोरामुमो

0
893
वाई. लामा।

दार्जीलिङ, 28 जुलाईः विमलपन्थी गोजमुमोका केन्द्रिय समिति सदस्य डा. बिनु सुन्दासले भाजपासँगको गठबन्धनलाई लिएर दिएको विवादास्पद बयानमाथि तीखो शब्द खण्डन गर्दै गोरामुमोले चाँड़ोभन्दा चाँड़ो स्टेयरिङ कमिटी गठन गरिनुपर्ने तथा यथाशीघ्र त्रिपक्षीय वार्ता बोलाइनुपर्ने माग गरेको छ।

सोमबार गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई. लामाले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्। यसका साथै कठिन परिस्थितिमा बनाइएको गोर्खा एकतालाई तोड़्ने प्रयास बिनु सुन्दासले गरिरहेको पनि उनले आरोप लगाए।

‘कुन परिस्थितिमा हामीले विगतको लोकसभा चुनाउमा गोर्खा एकता कायम राख्यौं, त्यो सजिलो थिएन। धेरै कठिनाइ थियो। यो एकता बढ़ाउन तर ती कठिनाइ र समस्याहरूलाई पन्साएर हामी दिल्ली गयौं। त्यस समय बङ्गाल भाजपाका प्रभारी कैलाश विजयवर्गीय थिए। भाजपाका केन्द्रिय नेतृत्वहरूसँग बैठक बस्यौं। तर हामीले त्यस समय हामीले बिनु सुन्दासलाई देखेनौं’, लामाले विज्ञप्तिमा थप लेखेका छन्, ‘चाहे त्यो सङ्कल्प-पत्र बनाउँदा होस्, भूपेन्द्रसिंह यादवको वासस्थानमा होस् या भाजपाको केन्द्रिय कार्यालयमा होस्। कहिले पनि हामीले बिनु सुन्दासलाई देखेनौं। दार्जीलिङ लोकसभाका लागि उम्मेदवारका लागि धेरै चर्चा-परिचर्चापछि अन्तमा राजु बिष्टलाई चयन गरिँदा पनि हामीले बिनु सुन्दासलाई देखेनौं।’

भारतीय गोर्खा समुदायले गोर्खा एकतालाई माया गरेको, कुनै व्यक्तिको टिप्पणीलाई होइन भन्दै गोरामुमोले सुन्दासले बयानप्रति तीखो  शब्दमा विरोध जनाएको छ।

यसैगरी पछिल्लो 20 फरवरीका दिन सिलगढ़ीमा राजु बिष्टले गठबन्धनका घटक दलहरूलाई लिएर डाकेको बैठकमा भएको निर्णयअनुसार चाँड़ै स्टेयरिङ कमिटी चाँड़ो गठन गरिनुपर्ने तथा भाजपाले आफ्नो सङ्कल्प-पत्रमा समावेश गरेका जनजातिको मान्यता र दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानको मुद्दालाई समाधान गर्न गृहमन्त्रीले चाँड़ोभन्दा चाँड़ो त्रिपक्षीय वार्ता बोलाउनुपर्ने माग पनि गोरामुमोले गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here