राजेश खन्ना : आफ्नै स्टारडमले थिचिएका सुपरस्टार

0
2245
 राजेश खन्ना (फाइल फोटो)

 

प्रस्तुति : सौजन्य छेत्री
बलिवुडको अहिलेसम्मको इतिहासलाई हामीले हेऱ्यौं भने राजेश खन्नालाई भीड़बाट अलग्गै पाउँछौं। बलिवुड इन्डस्ट्रीलाई उनले एकपछि अर्को सुपरहिट फिल्म दिए। यी फिल्महरूकै कारण उनी सुपरस्टार बने। महानायक मानिए। मानिसहरूले राजेश खन्नालाई प्रेमपूर्वक ‘काका’ भन्थे। एक समय सम्पूर्ण देश नै उनको अभिनयले कायल थियो। फ्यानहरूमा उनीप्रतिको पागलपन चरममा थियो।
भनिन्छ, युवतीहरू उनीप्रति पागल हुन्थे। ‘काका’-को एक झलक पाउनका लागि युवतीहरू घण्टौं लाइनमा उभिन्थे। यदि उनलाई एकै झलक हेर्न नपाए, उनको गाड़ीलाई चुम्ने गर्थे युवतीहरू। उनीहरूले राजेश खन्नालाई आफ्नो रगतले चिट्ठी लेख्थे। र, राजेशको फोटो राखेर विवाह गर्थे युवतीहरू।  के तपाईंलाई थाहा छ ? यति धेरै चाहनेहरू भए तापनि राजेश खन्नालाई कहिल्यै सन्तुष्टि प्राप्त भएन। आफ्नो जीवनको उत्तरार्द्धमा उनी आफूभित्रै जलिरहे। अन्त्यमा एकलोपनको मृत्युसँग हारे। आउनुहोस्,  बलिवुडका यिनै महानायक ‘काका’-बारे केही जानौं-
ट्यालेन्ट प्रतियोगिताबाट बलिवुडसम्मको यात्रा
आराधनाको सुटिङअवधि राजेश खन्ना।
राजेश खन्नाको जन्म 29 दिसम्बर 1942 मा भएको थियो। बाल्यकालमा उनको नाम जतिन अरोरा थियो। उनको पालन-पोषण लीलावती-चुन्नीलाल खन्ना दम्पतिले गरेका थिए। जतिनका आमा-बाबा भारत विभाजनपछि पाकिस्तानबाट आएर अमृतसरमा बसेका थिए। खन्ना दम्पति जतिनका वास्तविक आमा-बाबाका आफन्त थिए। यसैले खन्ना दम्पतिले यी बालकलाई काख लिएका थिए। चाँड़ै उनका आमा-बाबा अमृतसरबाट बम्बई (अहिलेको मुम्बई) आए। यहाँ उनी आफ्ना साथी रवि कपुरसँग कलेज जान शुरु गरे। यिनै रवि कपुर पछि बलिवुडका अभिनेता जीतेन्द्रको नामले चर्चित भए। कलेजका दिनमा राजेश खन्ना नाटक खेल्थे। यसैबेला उनको भेट अमजद खानसँग भएको थियो। यसअवधि दुवैले धेरै पुरस्कार जिते। वर्ष 1965 –को कुरा हो। त्यसबेला फिल्मफेयरको तर्फबाट अल इन्डिया ट्यालेन्ट प्रतियोगिता आयोजन गरिएको थियो। यो ट्यालेन्ट प्रतियोगिता राजेश खन्नाले जिते। यो प्रतियोगिताले उनलाई बलिवुडको दैलो खोल्यो। यहींबाट जतिन अरोरा उर्फ राजेश खन्नाको बलिवुड यात्रा शुरु भयो। अघिल्लो वर्ष उनी चेतन आनन्दको फिल्म ‘आखिरी खत’- देखिए। यसपछि उनले ‘राज’ फिल्ममा काम गरे। यद्यपि यी दुवै फिल्म बक्स अफिसमा उस्तो चलेनन्। राजेश खन्नाले सुपरस्टार बन्न केही पर्खिन पऱ्यो।
सन् 1967 –मा फिल्म ‘बहारों के सपने’ रिलिज भयो। यो फिल्ममा उनले गरेको अभिनयलाई धेरैले सकारे। यसपछि राजेश खन्नाले कहिल्यै पछि फर्केर हेर्न परेन। उनले यसपछि एकपछि अर्को सुपरहिट फिल्म दिए। यसमा ‘खामोशी’, ‘औरत’ र ‘आराधना’ प्रमुख थियो। यी फिल्महरूले राजेश खन्नालाई स्टार बनाए। यसअवधि राजेश खन्नाले शर्मिला टेगोर, आशा पारेख, हेमा मालिनी र मुमताजजस्ता सुन्दरी र बुद्धिमान अभिनेत्रीहरूसँग काम गरे।
भनिन्छ, राजेश खन्नालाई सुपरस्टार बनाउनमा संवादभन्दा धेरै सङ्गीत र फिल्मको कथाको योगदान थियो। यदि हामीले उनका बहुचर्चित फिल्म ‘आराधना’-को कुरा गऱ्यौं भने यो फिल्ममा त्यस्तो उल्लेखनीय कुनै संवाद छैन, जुन मानिसहरूको जिब्रोमा टाँसिएर सधैँ बसोस्, तर यसको प्लट र सङ्गीत बलियो छ। यो फिल्मको गीत ‘मेरे सपनों की रानी कब आएगी तू’ र ‘रूप तेरा मस्ताना’ विशेष लोकप्रिय बने। हामी सबैलाई थाहै भएकै कुरा हो ‘मेरे सपनों की रानी कब आएगी तू’ –मा दार्जीलिङको बहुचर्चित नागबेली बाटो हिल कार्ट रोड र टोय ट्रेन देखाइएको छ। आरडी बर्मन र किशोर कुमारले उनका लागि सबैभन्दा उत्कृष्ट सङ्गीत सिर्जना गरे।
60-को दशकका ‘सुपरस्टार’
दार्जीलिङको हिलकार्टमा रोडमा राजेश खन्ना।
सन् 1969 –देखि 1971 सम्म राजेश खन्नाले लगातार 15 हिट फिल्म दिए। यो एउटा यस्तो रेकर्ड हो, जसलाई अभिताभ बच्चनजस्ता सुपरस्टारले पनि तोड़्न सकेनन्। हामी भन्नसक्छौं क्रिकेटमा जस्तो सचिनको रेकर्ड तोड़्नु कुनै खेलाड़ीका लागि असम्भवजस्तै छ, त्यस्तै राजेश खन्नाको यो रेकर्ड पनि आगामी दिनमा कुनै सुपरस्टारले तोड़्नेछन् भन्नु गाह्रै कुरा हो। 60 -देखि 70 को दशक राजेशका लागि स्वर्णकाल थियो। यो दशकमा उनले स्वयंलाई रोमान्स र ट्रेजेडीका बिना मुकुटधारी राजाको रूपमा स्थापित गरे।
यसअवधि उनले ‘कटी पतंग’, ‘आन मिलो सजना’, ‘आनन्द’, ‘मर्यादा’, र ‘नमक हराम’-जस्ता ब्लकबस्टर फिल्म खेले। यो समयमा उनको व्यक्तिगत जीवनमा पनि धेरै कुरा घट्यो। उनको व्यक्तिगत जिन्दगी पनि कुनै फिल्मको कथाजस्तै रह्यो। आफ्नो करिअरको आरम्भिक चरणमा उनी अभिनेत्री अञ्जु महेन्द्रसँग ‘लिभ इन्’ –मा बसे। 1973 मा दुवै एकार्काबाट टाढ़िए। त्यसपछि राजेश खन्नाले अभिनेत्री डिम्पल कपाडियासँग विवाह गरे। डिम्पल त्यससमय उनीभन्दा 16 वर्ष सानी थिइन्।
डिम्पल र राजेश खन्नाको यो वैवाहिक यात्रा 11 वर्षसम्म सँगै हिड़्यो। 1984-मा दुवै छुट्टिए। यद्यपि दुवैले कहिले सम्बन्ध विच्छेद भने गरेनन्। यसैबीच मुमताज र टीना मुनिमसँग उनको अफेयरको खबर आइरह्यो।
ओरालोतिर ग्राफ
एक कार्यक्रममा पत्नी डिम्पल कपाडियासँग राजेश खन्ना।
जस्तो कि, प्रकृतिको नियम छ,  सूर्य उदाउँछ, अस्ताउँछ पनि।  ठीक त्यस्तै राजेश खन्नासँग पनि भयो। 1975 पछि उनको चमक मधुरो बन्दै गयो। यसलाई उनले पचाउन सकेनन्। असलमा 70-को दशकमा देशमा आर्थिक सङ्कट बढ़ेको थियो। यो समय आम मानिसहरू धेरै आक्रोशित बनेका थिए। यो आक्रोशलाई कलाको माध्यमद्वारा पर्दामा उतार्नका लागि ‘एङ्ग्री यङ मेन’ प्रारूपको फिल्म बन्न शुरु भयो, जबकि राजेशको छवि एक रोमान्टिक हिरोको थियो। यसैले उनी एङ्ग्री यङ मेन प्रारूपको फिल्ममा उनी फिट भएनन्।
यसै कारण उनको ‘स्टारडम’ फिका बन्न शुरु भएको थियो, यस्तै समय ‘जंजीर’ फिल्म आयो। यो फिल्मसँगै बलिवुडलाई अमिताभ बच्चनको रूपमा नयाँ सुपरस्टार प्राप्त भयो। ‘एङ्ग्री यङ मेन’ प्रारूपको फिल्ममा अमिताभ ‘वन मेन आर्मी’-को रूपमा देखिए। उनी आफ्ना अनुहारमा आक्रोश पोतेर व्यवस्थासँग लड़्थे। आक्रोशित मानिसहरूलाई बच्चनको यो अवतार मन पर्थ्यो। यहींबाट राजेश खन्नाले बुझे, अब आफू समय सकिसकेको छ।
यद्यपि आफ्नो ‘स्टारडम’- त्यसै त्यसै  सकिएको हेर्नु कसैका लागि पनि सहज कुरा होइन, तर पनि उनी केही गर्न सक्तैन थिए। एउटै विकल्प थियो, उनी अघिका सत्यलाई चुपचाप स्वीकार्नु। यसै कारण उनीभित्र भित्रै जल्न थाले। मदिरालाई सहारा बनाए। पछि उनी राजनीतिमा पसे। 
सन् 1992-मा कङ्ग्रेसको उम्मेद्वारको रूपमा नयाँदिल्लीबाट लोकसभा सांसद बने। यहाँ पनि राजेश खन्नाको मन अड़िएन। आफ्नो स्टारडमको ह्याङओभरले उनलाई सताइरहेको थियो। राजेश खन्ना विचलित थिए। छट्पटीले सताइरहन्थ्यो। उनी चाहन्थे, आफ्नो गुमाएको स्टारडम पुनः फिर्ता पाइयोस् र एक सुपरस्टारको रूपमा नै जीवन त्याग्न पाइयोस्, तर यस्तो हुन सकेन। उनले पर्दामा पुनः फर्किन अथक प्रयास गरे, तर सबै विफल बने। उनीभित्र यति धेरै छटपटी थियो, एकपटक उनी ‘बिग बोस’-मा पनि जान तयार भएका थिए । यद्यपि उनका ज्वाइँ एवं अक्षय कुमारले राजेश खन्नालाई यस्तो गर्नबाट रोके।
आज मानिसहरूले जे नै भनून्, तर ‘काका’-ले भारतीय सिनेमालाई जे दिए, त्यो  अमूल्य छ। यस्ता कलाकार शताब्दीमा एकपटक जन्मिने गर्छन्। उनको फिल्म ‘आनन्द’-मा जब उनी मरिरहेका हुन्छन्, अमिताभ एक संवाद बोल्छन्, “मौत एक कविता है, मुझसे एक कविता का वादा है मिलेगी मुझको।’’
यसै संवादको रूपमा राजेश खन्नाले 18 जुलाई 2013-मा हामी सबैलाई सधैँका लागि अलविदा भने। यी सुपरस्टारलाई तर मृत्युपछि पद्मभूषणले सम्मानित गरियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here