सिलगढ़ी, 28 अगस्त : सिलगढ़ी नगरनिगमका मेयर एवं विधायक अशोक भट्टाचार्यको स्वास्थ्यमा सुधार धेरै आएको छ। पछिल्लो 26 अगस्तको राति अचानक मुटुमा पीड़ा र श्वास-प्रश्वासमा समस्या देखिएपछि शहरको सेवक रोडस्थित एक नर्सिङ होममा भर्ना गरिएको थियो भने भोलिपल्ट अर्थात् 27 अगस्तको बिहान ट्रेनमार्फत उनलाई कोलकाता लगिएको थियो।
स्वास्थ्यमा सुधार आएपछि मेयर भट्टाचार्यलाई वार्डमा सारिएको जानकारी पाइएको छ। कोलकातास्थित फोर्टिस कार्डियक साइन्सेस डिपार्टमेण्टका निर्देशक डा. शुभानन रेले 69 वर्षीय यी माकपा नेताको स्वास्थ्यबारे जानकारी गराउँदै भनेका छन्, “उनको स्वास्थ्यमा धेरै सुधार आएको छ। हामीले अहिले उनलाई वार्डमा सारेका छौं।”
अर्कोतिर मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-का दार्जीलिङ जिल्ला महासचिव जीवेश सरकारले पनि अशोक भट्टाचार्यको स्वास्थ्यमा धेरै सुधार आएको बताएका छन्।
“उनको स्वास्थ्य धेरै राम्रो भएको छ। चाँड़ै उनी स्वास्थ्य लाभ गरी सिलगढ़ी फर्किनेछन्”, सरकारले भने। यसैबीच मेयर भट्टाचार्य अस्वास्थ्य भएकै कारण सिलगढ़ी नगरनिगमको बोर्ड मिटिङ स्थगित गरिएको छ। आउँदो 30 अगस्तको दिन बोर्ड मिटिङ निर्धारित गरिएको थियो।
नगर निगमका चेयरम्यान दिलीप सिंहले बुधवार जानकारी गराएअनुसार अघिल्लो आदेशसम्मका लागि बोर्ड मिटिङ स्थगित गरिएको छ। उनका अनुसार मेयरको अस्वास्थ्यलाई ध्यानमा राखेरै बोर्ड मिटिङ स्थगित गरिएको हो।