प्रतिबद्धताको दुइ वर्षे यात्रा

0
1067

जनसंवाद अनलाइन न्युज पोर्टलले आज दुइ वर्षको यात्रा पूरा गरेको छ। आजकै दिन अर्थात् 28 अगस्त, 2018 -देखि जनसंवाद शुरू भएको थियो।

निष्पक्ष, सही, तथ्यपूर्ण र विश्वसनीय समाचार प्रकाशनको उद्देश्य राखेर जनसंवाद खबरपत्रिका शुरू गरिएको हो। यो प्रतिबद्धता सधैँ रहनेछ।

यो दुइ वर्षे यात्रामा यसले धेरै आरोह-अवरोह र चुनौतीहरूको सामना गरेको छ। सीमित स्रोत र संसाधन लिएरै शुरू गरिएका कारण पनि यसअघिका चुनौतीहरू धेरै थिए। अझै छँदैछन्। यद्यपि यी चुनौतीहरूलाई जितेर जनमुखी र जनोपयोगी समाचार खुराक निरन्तर दिइरहनु यसको अभीष्ट हो। यो अभीष्टप्राप्तिका लागि जनसंवादले सक्दो कोशिश गरिरहेको छ/आगत दिनमा पनि गरिरहनेछ।

दार्जीलिङबाट सञ्चालित अन्य न्युज पोर्टलहरूका तुलनामा यसको क्षेत्रलाई केही फराकिलो बनाउने कोशिश हामीले शुरूदेखि नै गर्दै आइरहेका छौं। सबै प्रकारका पाठकको रूचि समेट्ने हाम्रो कोशिश जारी छ। यसमा हामी कतिसम्म सफल बनेका छौँ, त्यसलाई हाम्रा पाठकहरूले मूल्याङ्कन गरिरहेका होलान्। हामी पाठकहरूबाट सही र स्वस्थ प्रतिक्रिया/सुझाउहरूको अपेक्षा राख्दछौँ। किनभने पाठकहरूको माया र सुझाउ नै हाम्रा लागि ऊर्जा हो। यो ऊर्जाले नै जनसंवादको यात्रालाई निरन्तरता दिनेछ।

जनसंवाद अनलाइन खबरपत्रिका निष्पक्ष, निर्भीक अनि जनताका सरोकारहरूलाई प्राथमिकता दिने वैद्युतिक संवाद माध्यम हो।

आधिकारिक, तथ्यपरक अनि सम्बन्धित सबै पक्षलाई समान महत्त्व प्रदान गरेर समाचार प्रेषण गर्ने, राजनीतिक प्रतिस्पर्द्धाहरूमा तटस्थता एवं जनपक्षीय धारा अङ्गीकार गर्ने मूल्य-मान्यता बोकेर शुरू गरिएको यस संवाद माध्यमले राजनीतिलगायत समाज, साहित्य, कला, संस्कृति, खेलकुद, विज्ञान आदि सबै विषयमा पाठकवर्गलाई सम्पूर्ण खुराक दिने लक्ष्य राखेको छ।

जनसंवाद यसमा प्रतिबद्ध छ।

यो दुइ वर्षे यात्रा भनेकै प्रतिबद्धताको यात्रा थियो। अब यो प्रतिबद्धतालाई दिगो र निरन्तर जारी राख्ने थप दायित्व थपिएको छ। जनसंवादले यो गह्रौं दायित्वलाई बोकेर अघि बढ़्नेछ। साथै केही महिनाभित्रै थप विस्तृत र बलियो बनेर आउने कुरा हामी हाम्रा पाठकहरूलाई सहर्ष जानकारी गराउँदछौँ।

व्यवस्थापक/सम्पादक

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here