दार्जीलिङ, 28 अगस्तः बन्द चियाकमान खोल्न र ती चियाकमानहरूका श्रमिकहरूलाई आर्थिक सहयोग गर्नका लागि जीटीए-2 ले कुनै प्रकारको कार्य अहिलेसम्म नगरेको आरोप गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्ल्यूयूले आरोप लगाएको छ।
‘‘जीटीए-2 ले बन्द चिया कमानहरूका लागि आजसम्म के गरेको छ?’’, एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्ष डीके गुरुङले सोधेका छन्।
उनको आरोपका अनुसार चियाश्रमिकहरूका हितमा कार्य गर्नका सट्टा जीटीए-2 ले उल्टै भ्रामक बयानहरू दिएर मानिसहरूलाई झुक्याउने काम गरिरहेको छ।
“धोत्रे, कलेजभेल्ली र पेशोक 2016 देखि नै बन्द अवस्थामा छ। त्यहाँ बरू अघिल्लो जीटीए-1 का विमल गुरुङले 2016 मा एकपटक 1500 र अर्कोपटक 1,000 गरी दुईपटक 2,580 जना श्रमिक/कर्मचारीलाई पैसा बाँड़ेका थिए”, गुरुङले थपे, “तर तपाईंहरूले आजसम्म त्यहाँ के दिनुभयो? फुटेको कञ्ची पनि दिएको छैन।”
लकडाउनको जटिल समयमा पनि जीटीए-2 ले बन्द अवस्थामा रहेका चियाकमानहरूका श्रमिकहरूलाई कुनै प्रकारको सहयोग नगरेको गुरुङको भनाइ छ।
लङभ्यु चियाकमानको समस्या सम्बन्धमा बोल्दै एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्ष डीके गुरुङले जीटीए-2 को आलोचना गरेका हुन्। अर्कोतिर, रहल बोनस र वेतनको मागमा अनशन बसिरहेका लङभ्यु चियाकमानका श्रमिकहरूको समस्या बुझ्न र उनीहरूको समस्या समाधानका लागि सहयोग गर्न खरसाङका विधायक रोहित शर्मा र राज्यसभा सांसद शान्ता छेत्री आजका दिनसम्म अघि नआएको भन्दै उनीहरू कहाँ छन् भन्ने प्रश्न पनि गरेका छन्।