गान्तोक, २८ अगस्तः एसडीएफ पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई आज (शनिबार) छुजाचेन निर्वाचन क्षेत्रका नवनियुक्त पार्टी पदाधिकारी तथा वरिष्ठ नेतृत्वहरूले पार्टी मुख्यालयमा भेट गरी विभिन्न विषयमा चर्चा गरे।
यसअवधि कोविड प्रोटोकल्सलाई पालन गरिएको पार्टीका प्रचार प्रसार सचिव विष्णु दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी अध्यक्षसँग भएको भेटघाटको क्रममा छुजाचेन निर्वाचनका पदाधिकारीहरूले सभा आयोजन गरी पार्टीलाई दह्रो बनाउने पक्षमा विभिन्न प्रस्ताव ग्रहण गरेको पार्टी अध्यक्षलाई अवगत गराए।‘
विज्ञप्तिमा थप भनिएको छ, ‘पार्टी अध्यक्षलाई छुजाचेन क्षेत्रका एसडीएफ पदाधीकारीहरूले एसकेएम पार्टीले ग्रामीणस्तरका जनतालाई डर, त्रास र पक्षपाती व्यवहारद्वारा आतङ्कित बनाइरहेको जानकारी दिँदै हिजोको सद्भावना अनि शान्तिपूर्ण सिक्किमेली समाजलाई आज सत्ताको दुरुपयोग गर्नेहरूले अराजकता र अभावग्रस्त अवस्थामा धकेलिरहेको अर्को दुःखद परिस्थिति पनि अवगत गराए। यसका साथै पार्टी अध्यक्षसँग सम्पन्न भएको भेटघाट कार्यक्रमको अवसरमा छुजाचेन निर्वाचन क्षेत्रका एसडीएफ पार्टी पदाधिकारी तथा नेतृत्वहरूले सिक्किम र सिक्किमेली जनतालाई सुरक्षित राख्न २०२४-मा एसडीएफ पार्टीलाई सरकारमा फर्काइल्याउने प्रण पनि गरे।‘
भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै एसडीएफ पार्टी अध्यक्ष चामलिङले नवनियुक्त पार्टी पदाधीकारीहरूलाई बधाई एवं शुभकामना दिए।
उनले एसडीफ पार्टीको औचित्य र महत्त्वलाई प्रकाश पार्दै एसडीएफ पार्टी भनेको सामूहिक नेतृत्व र जिम्मेवारीलाई सिद्धान्तको रूपमा मान्ने पार्टी रहेको र पार्टीमा रहेर कुनै पनि जिम्मेवारी निर्वाह गर्नु भनेको व्यक्तिगत नाफा-नोक्सानका लागि नभएर सामूहिक हित र कल्याणका लागि आफूलाई समर्पित गर्नु रहेको बताए। व्यक्तिगत नाफा-नोक्सानले सामूहिक हितलाई मार्ने, जसले गर्दा जनसाधारणलाई अन्याय हुने विषयलाई प्रकाश पारेको विज्ञप्तिमा बताइएको छ।
पार्टीको कार्यशैलीलाई समीक्षा, आत्मालोचना र चिन्तन गरेर पार्टीको सिद्धान्तसँग जोडिनु नै एसडीएफ पार्टीको साँचो कार्यकर्ता हुनु रहेको पनि अध्यक्ष चामलिङले नेतृत्वर कार्यकर्ताहरूलाई बुझाएको विज्ञप्तिमा थप उल्लेख गरिएको छ।
सभामा चामलिङ थपे, “सैद्धान्तिक रूपमा मेरो जति जिम्मेवारी छ, त्यत्तिकै जिम्मेवारी वार्डस्तरीय कार्यकर्त्ताको पनि हुने गर्दछ। त्यसैले हाम्रो उदेश्य भनेको प्रत्येक आम जनगणलाई सुख, शान्ति र खुशी दिनु हो। सिक्किम र सिक्किमेली जनताका हक अधिकार र सुरक्षा सुनिश्चित गर्नु हो। त्यसैले हामी आम जनगणप्रति जवाफदेही र उत्तरदायी बन्नुपर्छ।”
यसै क्रममा वर्तमान समयमा सिक्किम र सिक्किमेली जनता असुरक्षित बनेको, राज्यमा नियम-कानूनको उल्लङ्घन भइरहेको, ठिकाबिगाका कामहरू टेण्डरबिना वितरण भइरहेको, पार्टी हेरेर सरकारी सहुलियत वितरण गरिने जस्ता खेदजनक कार्यशैली भइरहेको पार्टी अध्यक्ष चामलिङले सम्बोधनको क्रममा पार्टी पदाधीकारीहरूलाई बताए।
उनले भने, “यस्ता कार्यशैलीले एसकेएम सरकारले प्रजातान्त्रको मर्म र उद्देश्यलाई नै मारेर तानाशाही प्रणालीलाई स्थापित गरेको छ। एसकेएम पार्टीलाई सरकारबाट नहटाएसम्म सिक्किमेली जनताले यस्ता समस्याबाट मुक्ति पाउँदैनन्। अहिले सिक्किम र सिक्किमे जनताको मुख्य समस्य भनेको नै एसकेएम पार्टी र एसकेएम सरकार हो।”
विज्ञप्तिमा अझ भनिएको छ, ‘राजनीतिको महत्त्वलाई गम्भीरतापूर्वक प्रकाश पार्दै पार्टी अध्यक्षले भने-राजनीतिमा सकारात्मक र निर्माणात्मक प्रतिस्पर्धा हुनुपर्छ। झुट बोल्नु, षड्यन्त्र गर्नु र जनतालाई भ्रममा पार्नु राजनीति होइन। हामीले सरकार चलाउँदा असल व्यवस्था सिर्जना गरेका थियौँ। आज त्यही व्यवस्थाबाट एसकेएम सरकारले काम गरिरहेको छ। एसकेएम पार्टीमा नीति, सिद्धान्त र कार्यक्रम नभएकोले गर्दा अहिलेसम्म यस सरकारले कुनै नयाँ कार्यक्रम तथा योजना दिन सकेको छैन।‘