सिक्किममा ६ सेप्टेम्बरदेखि शैक्षिक संस्थानहरू खुल्ने

0
909

गान्तोक, २८ अगस्तः सिक्किमका शैक्षणिक संस्थानहरू आउँदो ६ सेप्टेम्बरदेखि खुल्ने भएका छन्।

कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण बन्द रहेका शैक्षणिक संस्थानहरू पुनः सञ्चालन गर्ने विषयमा शिक्षा विभागले आज एक परिपत्र जारी गरेको छ।

विभागद्वारा जारी परिपत्रका अनुसार  राज्यका सबै सरकारी, सरकारी सहयोगप्राप्त, तथा निजी शैक्षणिक संस्थानमा आउँदो ६ सेप्टेम्बरदेखि नवौँ श्रेणी माथिको कक्षा सञ्चालन गरिनेछ।

नवौँदेखि बाह्रौँ श्रेणीको कक्षा सामान्य रूपमा शुरू हुने विभागले जनाएको छ। विद्यालयमा कक्षा बस्न चाहने विद्यार्थीहरूले आफ्ना अभिभावकबाट लिखित अनुमति भने ल्याउनपर्नेछ।

राज्यमा रहेका विश्वविद्यालय, महाविद्यालय, ट्युशन सेन्टर, कोचिङ सेन्टर तथा छात्रावास पनि ६ सेप्टेम्बरदेखि नै खुल्नेछन्। यद्यपि यी सबै संस्थान कुल क्षमताको ५० प्रतिशतको आधारमा सञ्चालन गर्नुपर्नेछ।

केन्द्र सरकारको अधीनमा रहेका शैक्षिक संस्थानमा भन्ने केन्द्रीय दिशानिर्देश पालन हुने परिपत्रमा उल्लेख गरिएको छ।

अर्कोतर्फ एलकेजीदेखि आठौँ श्रेणीसम्मको कक्षा शुरु गराउने सम्बन्धमा विभागले कुनै निर्णय लिएको छैन।

आठौँ श्रेणीभन्दा तलका कक्षा भने अर्को आदेश जारी नभएसम्म बन्द नै रहनेछन्।

उनीहरूका लागि अनलाइन शिक्षा जारी रहने र शिक्षकहरूले साप्ताहिक प्रतिवेदन विद्यालयलाई बुझाइरहनुपर्ने पनि परिपत्रमा उल्लेख छ।

नवौं श्रेणीमाथि कक्षा शुरू गर्ने सम्बन्धमा सबै संस्थानका प्रमुखहरूलाई १ सेप्टेम्बरदेखि तयारी शुरू गर्न विभागले निर्देश दिएको छ।

विद्यालयमा हुने सुविधाका आधारमा सेमिस्टार, परीक्षा सञ्चालन गर्ने अनुमति विभागले प्रदान गरेको छ। यद्यपि विद्यालय तथा शैक्षिक संस्थानले कोविड प्रोटोकल्सलाई पालन गर्नुपर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here