विमल गुरुङपन्थी गोजमुमो नेता नरेन्द्र काम्बाङ (फाइल फोटो)। |
दार्जीलिङ, २८ अक्टोबर : संविधानको धारा ३ अन्तर्गत् बङ्गालसँग विमल गुरुङ समूहको वार्ताको खबरले विनय तामाङ खेमामा प्रलय आएको विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -का केन्द्रिय समिति सदस्य नरेन्द्र काम्बाङले बताएका छन्।
आइतवार एक प्रेस विज्ञप्ति जारी गरी उनले यस्तो बयान दिएका हुन्। उनले विज्ञप्तिमा उल्लेख गरेअनुसार विनय खेमाले खबरलाई ‘बातलाई बतङगड’ बनाएझैं झूटो र निर्लज्ज तरिकाले अफवाहको रूपमा प्रचार गरिरहेको छ।
“बङ्गाल सरकारसँग वार्ता बस्नु राजनीतिक कारणहरूको अध्याय हो”, उनले लेखेका छन्, “गोर्खाल्यान्डका लागि बङ्गालसँग गणतान्त्रिक पद्धतिले औपचारिकतास्वरूप वार्ता गर्नेछौं।”
बङ्गाल सरकार गोर्खाहरूका हित र अधिकारप्रति कति ईमानदार र विचारशील रहेकोले यसै चिन्तनलाई वार्ताको टेबलमा निकाल्न विमल समूहले राज्य सरकारसँग वार्ता गर्ने विमलपन्थी नेता काम्बाङको भनाइ छ। “गोर्खाल्यान्ड मेरो (राज्य) –को विषय होइन। केन्द्र र सदनको विषय हो भनेर ममता ब्यानर्जी राजनीतिक जिम्मेवारीदेखि पन्सिएकी छन् भने विनय तामाङ बिक्री भएको छ। गोर्खाल्यान्ड राज्यको विषय होइन भन्ने कुरा नै मुख्यमन्त्री ममता ब्यानर्जीले त्रिपक्षीय वार्ताको टेबलमा भन्नु पर्छ भन्नलाई नै वार्ता आन्दोलनकारीहरूसँग बस्नपर्नेछ’’, उनले विज्ञप्तिमा थप लेखेका छन्, “गोर्खाल्यान्ड मुद्दामा परस्पर वार्ता र तर्क हुनपर्छ। गोर्खाल्यान्ड केन्द्रको विषय हो भन्ने राज्य सरकारले गोर्खाल्यान्ड भन्ने र समर्थन गर्नेहरूलाई प्रताड़ना गर्नु के सकारात्मक लक्षण हो? बङ्गालको परितोषक रूपमा दिएको कुर्सीमा बस्ने भावनाका व्यापारी विनय तामाङ, अनित थापार सतीश पोखरेलजस्तो छलीहरूले गोर्खाल्यान्ड चुनावी मुद्दा र गोर्खाल्यान्ड निर्माणको कुरा गर्नु चाहिँ दूधको साक्षी बिरालो हुनु मात्र हो। जुन व्यक्ति र नेताहरूको बिकाउ र धोखाको कारण १०५ दिनको बन्द र १३ जना शहीदको बलिदान व्यर्थै खेरो गयो, सरकार र प्रशासनको हरेक चुनौती र अत्याचारसँग जुझेर मुद्दा र जातीय गरिमा बचाउन जङ्गल र जेलतिर हुनेहरूमाथि औंल्याउनु ‘गतिछाड़ापन’-को हदपार गर्नु हो।’’
नरेन्द्र काम्बाङले लगाएको आरोपका अनुसार पराकाष्ठा पुगिसकेको आन्दोलनलाई विनय तामाङ, अनित थापा, सतीश पोखरेल र भुवन पी. शर्माले भुइँमा झारेका हुन्। यस्ता डरछेरुवा बिकाउ, छली र पार्टी फेरिरहनेहरूकै गोर्खाल्यान्ड निर्माण साह्रो गाह्रो र अप्ठ्यारोमा परेको हो।
यद्यपि उनले गोर्खा जन्मुक्ति मोर्चा र यसका अध्यक्ष विमल गुरुङ तथा केन्द्र सरकार र केन्द्रको सत्तारूढ़ पार्टी भाजपाद्वारा राजनीतिक र कुटनैतिक आधारमा दार्जीलिङको समस्याको समाधान अवश्यै हुने दाबी गरेका छन्।
उनले विज्ञप्तिमा लेखेका छन्, “केन्द्र सरकार साना साना राज्य निर्माणको पक्षमा छ। र,गोर्खाल्यान्ड देशको प्राथमिक संवेदनशील मुद्दाको सूचीमा छ। ममता ब्यानर्जीको आड़ र तथास्तुमा चौकी हत्याउने र आन्दोलन बेचेर मोज गर्नेहरूतथाकथितहरू विमल–ममतासँग वार्तादेखि साँच्चै चिन्तित र सुर्तामा छन्।आन्दोलन बेचेर पाएको शासन खोसिन्छ कि भन्ने डरले उनीहरू चिन्तित छन्, तर हामी बङ्गालसँग वार्ता केवल गोर्खाल्यान्डको मुद्दा लिएर बस्छौं। जीटीएजस्तो बेवास्ताको चौकी विमल गुरुङ र भूमिगत भएका र जेलपरेकाहरूले कदाचित स्वीकार्ने छैनन्।”
काम्बाङले विनय तामाङले जीटीएको असम्भव चुनाउ गराउने माग गर्दै पत्राचार गर्नु गोर्खाल्यान्ड विषयमा हुन गइरहेको त्रिपक्षीय वार्तालाई बाधा गराउने षड्यन्त्र मात्र भन्ने दाबी गरेका छन्।
उनले विज्ञप्तिमा उल्लेख गरेअनुसार सत्ताको लोभ र डरले जातिको नै भविष्य अन्धकार गराउने यस्ता नेताहरुलाई जनताले उचित समयमा उचित जवाफ र कारबाही गर्ने नै छ। साथै उनले अहिले पनि दार्जीलिङ पहाड़का शत प्रतिशत जनता विमल गुरुङसँगै जोड़िएको ठोकुवा गरेका छन्।
“सत्ताको लोभमा राजनीति गर्नु पर्दैन। जनता स्वयंले विमल गुरुङलाई समयानुकूल सत्तामा राख्छ, तर जाति र मुद्दाको व्यापार गरेर सत्ता हत्याउने नियत र उद्देश्य विमल गुरुङ र हामीजस्ता भूमिगत र जेलबन्दी आन्दोलनहरूको छैन”, उनले विज्ञप्तिमा थप लेखेका छन्, “गोर्खाल्यान्ड आन्दोलन भावनात्मक हो। र, आन्दोलनकालमा ज्यान गुमाएकाहरू शहीद भएको होइनन् भनी बयान दिने, जातीय मुद्दालाई विकाससँग साट्ने र तुलना गर्ने विनय र अनितहरूको बेइमानी र गद्दारी ढाकछोप गर्ने सतीश पोखरेल, भुवन खनाल र सुरज शर्माहरूले एकपटक आत्मालोचना र चिन्तन गरून्। जिन्दगीभरि चाप्लुसी, चम्चा र ढाँटको सिँड़ी चढ़ेर स्वार्थपूर्ति गर्नु मात्र राजनीति होइन।”