चुनाउअघि विमल पहाड़ फर्किने दाबी

0
1359
सभालाई सम्बोधन गर्दै बीपी बजगाईं।

दार्जीलिङ, 28 नोभेम्बरः आउँदो 2021 मा हुने बङ्गाल विधानसभाअघि नै विमल गुरुङ पहाड़ फर्किने गोजमुमो पहिलो खेमाका प्रवक्ता बीपी बजगाईंले दाबी गरेका छन्।

करिब 2 वर्षपछि बिहीवार दार्जीलिङस्थित गोदनिसंमा विमलपन्थी गोजमुमोले खुल्ला सभा आयोजन गरिएको थियो। यसै सभालाई सम्बोधन गर्दै प्रवक्ता बजगाईंले यस्तो दाबी गरेका हुन्।

“हामी ल्याउँछौं। 2021-को विधानसभा चुनाउअघि नै हामी ल्याउनेछौं”, उनले थपे, “तर राजनीतिमा थुप्रै सम्भावना बोकेर हिँड़्न पर्छ। दाजु पक्कै आफ्नो घर आउनु हुनेछ।” बजगाईंले विमल गुरुङलाई पहाड़ ल्याउनका लागि पार्टीले गर्नुपर्ने सबै कार्य गरिरहेको पनि बताए।

“हामी दाजुलाई पक्कै ल्याउनेछौं, विश्वास गर्नुहोस्। तर, कुनै कारणवश 2021 को चुनाउअघि दाजु पहाड़ फर्किन सक्नुभएन भने हामी हात बाँधेर बस्नु? बङ्गालको चौकीदारलाई चुनाउ जितेर बस्नु दिनु हामीले? र अर्को पाँच वर्ष हामीले अन्याय र अत्याचार खप्नु?”, उनले थपे, “तर, दाजु चुनाउअघि आउन सक्नु भएन भने उनले जीवन्त राखेको गोर्खाल्याण्डको सपना पूरा गर्नका लागि र  पहाड़का सम्पूर्ण जनता विमल गुरुङसँगै छन्, त्यसैले अध्यक्षको कुरा सुनेर हामीलाई स्थायी राजनीतिक समाधान गर्नुपर्ने भन्ने केन्द्र र राज्यलाई सन्देश दिनका लागि विधानसभा चुनाउमा अभूतपूर्व विजय प्राप्त गरेको हुनुपर्छ।”

आफ्नो सम्बोधनमा बजगाईंले आफूहरूको प्रमुख लक्ष्य बङ्गालबाट छुटनाम रहेको बताए। “अर्जुनले चराको आँखा मात्र देखेकोजस्तो हामीले बङ्गालबाट छुटनाम मात्र देखेका छौं”, मोर्चा पहिलो खेमाका प्रवक्ताले थपे, “हामी अरू कुनै व्यवस्थाको कुरा जान्दैनौं। हामी कुनै पाँचौं, छैटौं अनुसूचीको कुरा पनि जान्दैनौं।”

अर्कोतिर, उनले दार्जीलिङका सांसद राजु विष्टको 243 एम (3)-लाई खारेज गरी पहाड़मा त्रिस्तरीय पञ्चायत चुनाउ गराउने गरेको पहललाई स्वागत जनाए। यसअवसरमा उनले गोरामुमोका नेताहरूको नाम नलिइकनै प्रश्न गरे।

“243 एम (3)-लाई गोरामुमोले खतियान हो भन्छ भने तराई, डुवर्स अनि भारतीय गोर्खाको खतियान खोई?”, बजगाईंले प्रश्न गरे। उनले धारा 243 एम (3)-मा संशोधनलाई पनि स्थायी राजनीतिक समाधानको दिशामा एउटा कदम बताए। उनले गोरामुमोको नाम नलिए पनि विगतमा भूल भएको बताए।

“विगतमा भएको भूलको कारण नै 243 एम (3)-को जन्म भएको हो। यो भूलकै कारण सिलगढ़ी हामीले सधैंका लागि परेको थियो। त्यो भूललाई हामीले सच्याएर सिलगढ़ी फेरि फर्काएर ल्याउनुपर्छ”, उनले थप भने।

स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा सम्पन्न सभालाई सम्बोधन गर्दै बजगाईंले विशेष पहाड़का युवावर्गलाई खुलेर अघि आई नीति निर्धारकको भूमिका निर्वाह गर्ने आह्वान गरे।

उल्लेखनीय छ, गोरामुमो अध्यक्ष मन घिसिङले दुई दिनअघि मात्रै सांसद राजु विष्टलाई पत्राचार गरेर 243 एम (3)-लाई नछुने अपील गरेका थिए। तर, विमलपन्थी गोजमुमोले यसमा संशोधन ल्याउनुपर्ने वकालत गरिरहेको छ।

बाक्लो सङ्ख्यामा उपस्थित भएका पार्टी समर्थकहरूलाई सम्बोधन गर्दै बजगाईंले दार्जीलिङ बङ्गालबाट छुटनामको सँघार रहेको दाबी गर्दै धारा 243 एम (3)-को विरोध गरेर तथा यसका चर्चा उठाएर बङ्गालबाट छुटनामको सँघारलाई पर पुर्‍याउने कार्य कसैलाई नगरिदिने अनुरोध पनि बजगाईंले गरे।

उनले नामै नलिइकनै ‘राजनीतिक कम्पास’-का आयोजक र जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीको पनि आलोचना गरे। यसैगरी उनले आउँदो 2021 -मा हुने बङ्गाल विधानसभा चुनाउमा भाजपाले जित्ने पनि ठोकुवा गरे।

सभालाई  कालेबुङकी विधायक सरिता राई, गोजमुमो कार्यकारी अध्यक्ष लोप्साङ लामा, उपाध्यक्ष आरपी वाइबा, डा. आरबी भुजेल, विजय सुन्दास, तोप्देन भोटिया, उर्मिला रूम्बा र सुरज सुब्बालगायत अन्यले पनि सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here