दार्जिलिङ नगरपालिका सङ्कट : बहुमत साबित गर्न १५ दिनको म्याद

0
1065

दार्जिलिङ, २८ नोभेम्बर : कसको हुनेछ दार्जिलिङ नगरपालिकामा बोर्ड? बोर्ड हाम्रो पार्टीकै हातमा रहनेछ या भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बनाउनेछ??

अबका १५ दिनभित्र दार्जिलिङ नगरपालिकाको बोर्ड चित्र स्पष्ट हुनेछ । यसैवर्षको शुरूमा भएको नगरपालिका चुनाउमा १८ सिट जितेर बोर्ड गठन गरेको हाम्रो पार्टी अहिले दार्जिलिङ नगरपालिकामा अल्पमतमा परेको छ ।

पछिल्लो २४ नोभेम्बरका दिन हाम्रो पार्टीका ५ नगरपार्षद् पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि हाम्रो पार्टीको अधीनमा रहेको बोर्ड अल्पमतमा परेको हो ।

त्यसैदिन सामेल भएको भनिएका वार्ड नम्बर ८ का नगरपार्षद् दोर्जे शेर्पालाई लगाएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चासँग कुल १४ जना नगरपार्षद् छन् । उसलाई तृणमूल कङ्ग्रेसका दुईजना नगरपार्षद्को पनि समर्थन प्राप्त छ , जसको फलस्वरूप भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षमा १६ नगरपार्षद् भएका छन् । अर्थात बहुमत सङ्ख्याभन्दा एक कम ।

यसैबिच, अल्पमतमा रहेको हाम्रो पार्टीको बोर्डले बहुमत साबित गर्नुपर्ने माग गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र तृणमूल कङ्ग्रेसका नगरपार्षद्हरूले आज वर्तमान बोर्ड अध्यक्ष रितेश पोर्तेल, उपाध्यक्ष याङ्जी शेर्पा र दार्जिलिङका जिल्लापाललाई एक पत्र दिएका छन्।

भागोप्रमोका नगरपार्षद् नितेश गुरुङका अनुसार आजैदेखि मितिदेखि १५ दिनभित्र वर्तमान बोर्डले विश्वास मत ल्याएर बहुमत सिद्ध गर्नुपर्नेछ ।

यति मात्र होइन, गुरुङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चासँग दार्जिलिङ नगरपालिकाको बोर्ड गठन गर्न सङ्ख्या बल रहेको दाबी पनि गरेका छन् ।

दार्जिलिङ नगरपालिकाको बोर्ड गठनका लागि बहुमत सङ्ख्या १७ रहेको छ ।

यसैले स्पष्ट छ अनित थापानेतृत्व भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चासँग पनि अहिलेसम्म बहुमत सङ्ख्या पुगेको छैन ।

अर्कोतर्फ अजय एड्वर्ड्सनेतृत्व हाम्रो पार्टीसँग केवल १२ नगरपार्षद् रहेका छन् । एड्वर्ड्सले दाबी गरेअनुसार गोर्खा जनमुक्ति मोर्चाका तीन नगरपार्षद्ले समर्थन गरेको खण्डमा पनि हाम्रो पार्टीसँग नगरपार्षद् सङ्ख्या केवल १५ हुनेछन् ।

यसैले पनि दार्जिलिङ नगरपार्षद्को बोर्ड गठन गर्नका लागि अबका केही दिनभित्र किनबेचको खेल बढ्ने सम्भावना चुलिएको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here