कालेबुङ, 28 दिसम्बरः तृणमूल कालेबुङ जिल्ला प्रभारी एवं राज्यसभा सांसद शान्ता छेत्रीले असमका सातवटा डिटेन्शन सेन्टरमा एनआरसीबाट छुटेका एक लाख गोर्खा रहेको बताएकी छन्।
शनिवार कालेबुङमा नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) -को विरोधमा हिल तृणमूल कङ्ग्रेसद्वारा आयोजित प्रतिवाद र्यालीपछि सहभागी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै छेत्रीले यस्तो बयान दिएकी हुन्।
एनआरसीमा नपरेका मानिसहरूलाई राख्नका लागि सरकारले असममा सातवटा डिटेन्शन सेन्टर निर्माण गरेको, जसमा राखिएका 19 लाख नागरिकमध्ये एक लाख गोर्खा रहेको दाबी गरिन्।
“हामी बङ्गालमा एनआरसी मान्दैनौं। हाम्री नेतृ ममता ब्यानर्जीले बङ्गालमा कुनै पनि अवस्थामा एनआरसी लागू हुनेछैन भनेर पूर्ण भरोसा दिलाएकी छन्। यसैले बङ्गालमा एक-दुई-तीन एनआरसी लागू हुनेछैन”, छेत्रीले थपिन्, “तपाईंहरू डर मान्नुपर्दैन। हाम्री नेतृ स्वयं यसको विरोधमा मैदानमा उत्रिएकी छन्। हामीले उनलाई साथ दिनुपर्छ।
यसैअवसरमा उनले आउँदो 3 जनवरीको दिन तृणमूल सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा सिलगढ़ीमा सीएए र एनआरसीको विरोधमा निकालिइने र्यालीमा सहभागी जनाइदिने अपील पनि गरिन् भने एनआरसी र सीएएलाई लिएर केन्द्र सरकारको दोहोरो नीति अपनाइरहेको आरोप लगाइन्।
अर्कोतिर, उनले अहिलेघरी नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-को देशव्यापी विरोध प्रदर्शन भइरहेको र यसैक्रममा बङ्गालमा पनि प्रतिदिन विरोध प्रर्शन भइरहेको र यसको नेतृत्व स्वयं मुख्यमन्त्री ममता ब्यानर्जीले गरिरहेको बताइन्।
टाउन हलदेखि निकालिइएको उक्त र्याली बजार परिक्रमा गरेपछि स्थानीय त्रिकोण पार्कमा आएर पथसभामा परिणत भएको थियो।