दार्जीलिङ, 29 जनवरी : दार्जीलिङ शहरलाई सफा-स्वच्छ र प्लास्टिकमुक्त बनाउन नगरपालिकाले पहल शुरु गरेको छ। सोमबार यसै विषयलाई लिएर दार्जीलिङ नगरपालिकाले स्थानीय क्यापिटल हलमा नागरिक समाजलाई जनचेतना र अन्तरक्रिया आयोजन गरेको थियो।
जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै नगरपालिका अध्यक्ष प्रतिभा राईले जानकारी गराएअनुसार यो जनचेतना र अन्तरक्रिया कार्यक्रममा नगरपालिका 32 वटै वार्डका समाजका प्रतिनिधिहरू, स्वच्छ भारत अभियानका एम्बासेडर अनिरुद्ध छेत्री, केही गैर-सरकारी सङ्गठन र गोर्खा जनमुक्ति मोर्चा टाउन कमिटीका प्रतिनिधिहरू उपस्थित थिए।
राईका अनुसार दार्जीलिङ शहरमा अनियन्त्रित प्लास्टिकको प्रयोगमाथि अङ्कुश लगाउन नगरपालिकाले नयाँ नियम लागू गरेको छ। उनले जानकारी गराएअनुसार यो नयाँ नियमअनुसार अबउसो दार्जीलिङको नगरपालिका क्षेत्रमा थर्मकलको थाल, प्लास्टिकको चम्ची र कपआदिको प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
नगरपालिका अध्यक्षका अनुसार यो नयाँ नियम लागू गरिनुको उद्देश्य प्लास्टिकबाट हुने हानिबाट नागरिक समाजले शिक्षा लिऊन् तथा दार्जीलिङलाई सफा र स्वच्छ बनाउन सबैले आ-आफ्नो दायित्व सम्झिऊन् भन्ने हो।
“दार्जीलिङ शहरमा थुप्रिने फोहोरको डिङ्गुरहरूमा प्लास्टिकजन्य वस्तुनै अत्यधिक हुनेगर्छ। यो दार्जीलिङका लागि घातक कुरा हो। यसैले हामीले प्लास्टिकजन्य सामग्रीको प्रयोगलाई जतिसक्दो कम्ती गर्नका लागि थर्मकलको थाल, प्लास्टिकको चम्ची र कपको प्रयोगमा प्रतिबन्ध लगाएका छौं।”
उनले यस्ता सामग्रीहरू बेच्ने पसलहरूका लागि 15 दिनको समय दिएको र तोकिएको 15 दिनभित्रमा शहरका पसलहरूले यस्ता सामग्रीहरू आफ्ना पसलहरूबाट हटाउनुपर्ने बताइन्।
“हामी बुधबार (आजै)-देखि शहरका पसलेहरूलाई यसबारे सूचित गराएर चिट्ठी लेख्नेछौं। हामीलाई आशा छ, उनीहरूसँग भएका प्लास्टिकका यस्ता सामग्रीहरू आ-आफ्ना पसलहरूमा राख्न बन्द गरेर हामीलाई सहयोग गर्नेछन्”, राईले भनिन्।
उनले 200 मिलिलिटरको पानीको बोतलको प्रयोगमा पनि नगरपालिकाले प्रतिबन्ध लगाएको बताइन्।
राईका अनुसार नगरपालिकाले बिस्तारै यसको प्रयोगमा न्यूनता ल्याउन र यसको सट्टामा वैकल्पिक उपायबारे योजना बनाइरहेको छ। नगरपालिका अध्यक्षले दार्जीलिङ शहरको ठाउँ-ठाउँमा ‘वाटर एटीएम’ स्थापना गर्ने योजना रहेको पनि बताइन्।
शहरमा वाटर एटीएम स्थापना गरिएपछि मिनरल वाटरको प्रयोगमा कमी आउने उनको भनाइ छ। उनका अनुसार यो प्रस्ताव विशद् विकास योजनाको एक भाग हो।
यसका साथै उनले आजैदेखि टाइगर हिल क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र घोषित गरिएको पनि बताइन् भने स्थानीय लाडेन ला रोड क्षेत्रको सुन्दरीकरण तथा यसलाई हर्न फ्री जोन बनाउनका लागि कार्य गर्ने निर्णय लिएको जनाइन्।
“दार्जीलिङ शहरलाई सफा र स्वच्छ राख्ने सबैको जिम्मेवारी हो। शहरका विभिन्न स्थानमा डिङ्गुर लागेको फोहोर-मैला उठाउने काम नगरपालिकाको हो, तर शहरबासीको सहयोगबिना यो कार्य नगरपालिका एकलैले गर्नु असम्भव छ”, उनले भनिन्। राईले शहरवासीलाई अबउसो प्लास्टिकका सामग्रीहरू प्रयोग नगरिदिने अपील पनि गरेकी छन्।
उनले जनसंवादसँगको कुराकानीमा दार्जीलिङ शहरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउन नगरपालिकाले विभिन्न कार्यहरू गरिरहेको पनि जानकारी गराइन्।