सिलगढ़ी, २९ जनवरी : गैर-सरकारी संस्था प्रचेष्टाले सोमवार बन्द पानीघट्टा चियाकमानका श्रमिकहरूलाई खाद्यान्न वितरण गऱ्यो।
समाजसेवाप्रति आग्रही महिलाहरूद्वारा सञ्चालित प्रचेष्टाले चियाकमानका अत्यन्त गरीब ३० श्रमिक परिवारलाई चामल, दाल, नुन, आँटा र अन्य पौष्टिक खाद्यान्न वितरण गऱ्यो। केही दिनअघि प्रचेष्टाका सदस्यहरूले १० अक्टोबर २०१५ देखि पानीघट्टा चियाकमानको भ्रमण गरी त्यहाँका गरीबहरूको अवस्थाबारे जानकारी बटुलेका थिए भने यो भ्रमणमा उनीहरूले खाद्यान्न वितरणका लागि ३० परिवार चयनित गरेका थिए।
प्रचेष्टाले पानीघट्टा चियाकमानका श्रमिकहरूलाई स्वरोजगारिताका लागि विभिन्न तालिमको व्यवस्था गर्ने यो गैर सरकारी संस्थाकी सचिव डोलन दास र सहसचिव बबी कुण्टुले बताइन्।
“खाद्यान्न वितरण गरिँदा मात्र यहाँका श्रमिकहरूको समस्या समाधान हुँदैन। त्यसैले हामीले उनीहरूलाई स्वरोजगार बनाउनका लागि कौशल विकासहेतु टेलरिङ, अचार बनाउने आदि तालिमको व्यवस्था गर्ने सोचेका छौं’’, उनीहरूद्वयले भने। यसका लागि प्रचेष्टाले पनि यो बन्द चियाकमानको भ्रमण गर्ने उनीहरूको भनाइ छ।
पछिल्लो १२ वर्षदेखि प्रचेष्टाले गरीब मानिसहरूका लागि विभिन्न सहयोगी कार्य गर्दै आइरहेको छ। सचिव डोलन दासका अनुसार यो संस्थामा २० सदस्य छन्। उल्लेखनीय छ, दशैंको मुखैमा अर्थात् १० अक्टोबर २०१५ –मा बन्द भएको यो चियाकमान खोलिने अहिलेसम्म कुनै छाँट देखिएको छैन।
स्थानीय श्रमिकहरूका लागि आय आर्जनको एउटै स्रोत यो चियाकमान बन्द भएपछि त्यहाँका श्रमिकहरूको अवस्था दिनोदिन सोचनीय र दयनीय बन्दै जाँदैछ। विपन्न अवस्थाका धेरजसो श्रमिकहरूले अहिले भोकमरीको अवस्था भोगिरहेका छन्।