विनय-अनितको राजनीति एकातिर, गोर्खाल्याण्ड अर्कोतिर

0
1819
अरुणा घिसिङ (फाइल फोटो)।

अरुण घिसिङ, पूर्व सभासद्, मिरिक

अनित थापाको राजनीति अनि पहाड़को समस्या समाधान भनेको नदीको दुई किनारा हो, कहिल्यै भेट नहुने। केवल पहाड़का जनतालाई ढाँटनु, छल्नु अनि सत्ताको चाप्लुसी गर्नुबाहेक विनय-अनितको राजनीति के नै पो रह्यो र? यिनीहरूको राजनीतिको सबैभन्दा हाँस उठ्दो अनि दयनीय अवस्था तब देखापऱ्यो, जब विनय-अनितले तेस्रो मोर्चालाई समर्थन गर्ने पोस्टर पहाड़मा टाँस्न लगाए।

ममताले केन्द्रविरोधी केही दललाई ब्रिगेड मैदानमा बोलाएर मञ्चमा राख्दैमा तेस्रो मोर्चा गठन भएको छैन। न त तेस्रो मोर्चा गठन भएको नै छ न त त्यसको कुनै आधिकारिक घोषणा नै गरिएको छ। न त त्यसका कुनै पदाधिकारी नै तय भएको छ, न त केन्द्रिय सत्ताको विरोधी ठुला दलहरूले तेस्रो मोर्चा भनेर कुनै अवधारणालाई नै स्वीकार गरेका छन्। यस्तो स्थितिमा विनय-अनितहरूले टाँसेको पोस्टरको तेस्रो मोर्चाको के महत्त्व छ?

गाईलाई गोरु लगाएको भोलिपल्ट मेरो बाछी छ, पछि त्यसले दुध दिन्छ भनेजस्तै हो विनय-अनितको तेस्रो मोर्चा। तर बाछी न ब्याएर बाछो पनि ब्याउन सक्छ, तुहुन पनि सक्छ। केवल अवधारणाको पोस्टर टाँस्नेहरूले गरेको राजनीतिले गोर्खालाई न्याय दिन्छ भन्नु मुर्खता सिवाय के पो होला र? त्यही सम्भावित तेस्रो मोर्चाका भन्नेहरू हात मिलाएर मञ्चमा उभिँदा पनि विनय-अनितले कसैको हात पक्रिएको फोटो देखापरेन, त्यसको अर्थ ब्रिगेड सभाले उनीहरूलाई तृणमूलको नै ठानेको हुनसक्छ । यस्ता धेरै भित्री कुराहरू केलाएर हेरिनु जरूरी छ।

मुख्यमन्त्रीले पहाड़को राजनीतिक समस्याको स्थायी समाधान गरिदिने भनेकोमा धन्यवाद सभा राख्नुभन्दा अनित थापाले सीधै मुख्यमन्त्रीलाई विधानसभामा गोर्खाल्याण्डको प्रस्ताव ल्याउन लगाएर त्यो प्रस्ताव केन्द्रलाई पठाउन लगाएको राम्रो हो। किनभने पहाड़को समस्याको स्थायी समाधान भनेको गोर्खाल्याण्ड हो। यसैले अनित थापाले बङ्गाल विधानसभाले गोर्खाल्याण्डको प्रस्ताव ल्याएपछि धन्यवाद दिएको राम्रो हुन्छ, केवल चुनाउको मुखमा बोल्दा मात्र होइन। त्यसरी नै विनय-अनितले तृणमूल कङ्ग्रेस र तेस्रो मोर्चाको घोषणा-पत्रमा पहाड़ तराई अनि डुवर्स मिलाएर गोर्खाल्याण्ड दिने कुरा लेख्न लगाउनु अनि मात्र स्थायी समाधानको कुरा गर्नू।

आज पहाड़मा विभिन्न विभागमा गरी कुल ३० हजार जति रिक्त पद छन्। विकासका लागि भनेर कोलकातासँग मिल्ने विनय-अनितले केवल प्राइमेरी स्कूलमा १२१ वटा पदमा त्यो पनि धेरैजनालाई काखी चेपेर नोकरी दिँदैमा त्यसले पहाड़को बेकारी समस्या समाधान गर्दैन।

सक्छौं भने पहाडको सबै रिक्त पदमा नोकरी खुलाऊ। विनय-अनितको गोर्खा प्रेम भनेको मुन्ना सिग्चीजस्ता  पोलिटिकल एड्भाइजर राख्नु हो। हामीलाई मुन्ना सिग्ची उर्फ अरुण सिञ्जीजस्तो  पोलिटिकल अनि  फाइनेन्सियल  एड्भाइजर चाहिएको छैन, किनभने उसको जातिको आफ्नो राज्य छ तर हाम्रो खोइ? अघाएको मान्छेले भोकाएको बारेमा कहिले सोच्दैन। 

विनय-अनितले गान्धीवादी आन्दोलनलाई राज्यसँग मिलेर हिंसाको खोल ओड़ाएर अहिले भाषणमा अनितले  कुन अहिंसाको कुरा गर्दैछन्? आफूलाई लागेको मुद्दाबाट बच्नलाई अनि  पैसा सोहोर्नलाई राज्यको पासो घाँटीमा बाँधेर तिमीहरूले जातीय चिन्हारी र सुरक्षाको कुरा गर्न सुहाउँदैन। अनित तिमीले खरसाङको वक्तव्यमा “हिंसा अनि अगणतान्त्रिक क्रियाकलापहरू कदापि गणतन्त्रको हिस्सा हुन सक्दैन” भनेर भनेको रहेछौ। पहाड़मा अरू राजनीतिक दलहरूले भाषण गर्नु नपाउने, बोल्नु नपाउने, सत्ताको विरोध गर्नेको घरमा पुलिस पठाउने तिम्रो गणतन्त्र कस्तो हो? पहिला त्यसको जवाब देऊ अनि गणतन्त्रको गफ हाँक। नत्र तिमीले बोलेको कुरा पानीमा ……..  जस्तै हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here