बजेट सत्रभित्रै पहाड़मा छैटौं अनुसूची लागू हुनुपर्छः गोरामुमो

0
1309

मिरिक, 29 जनवरीः नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय जनसङ्ख्या पञ्जी (एनपीआर) लागू गर्नअघि नै दार्जीलिङ पहाड़मा चाँड़ोभन्दा चाँड़ो छैटौं अनुसूची लागू गर्नुपर्ने माग गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले दोहोर्‍याएको छ।

सीएए र एनपीआरबाट दार्जीलिङ पहाड़ र गोर्खा जातिलाई बचाउने एउटै उपाय छैटौं अनुसूची रहेको गोरामुमोको दाबी छ।

बुधवार मिरिकमा पत्रकारहरूलाई सम्बोधन गर्दै प्रवक्ता महेन्द्र छेत्रीले भने, “सीएए र एनपीआर लागू गर्नअघि पहाड़ र गोर्खा जातिलाई बचाउनका लागि आउँदो बजेट सत्रभित्र छैटौं अनुसूची लागू गरेको हुनुपर्छ।”

उनको भनाइअनुसार सांसद राजु विष्ट र विधायक नीरज जिम्बाले यदि साँच्चै पहाड़ र गोर्खा जातिलाई माया गर्छन् भने आउँदो बजेट सत्रमा संसदमा छैटौं अनुसूचीको  बिल ल्याउनका लागि पहल गर्नुपर्छ।

गोरामुमो प्रवक्ता छेत्रीले थप भने, “सीएए र एनपीआरले  हामी पनि आतङ्कित छौं। एनपीआरमा सोधिएका थुप्रै दस्तावेज हाम्रा गोर्खा जातिमा पाउँदैनौं”, उनले भने।

गोरामुमो प्रवक्ताका अनुसार एनपीआरमा सोधिएका दस्तावेज सबै गोर्खा जातिले देखाउन सक्दैनन्। त्यसैले पनि दार्जीलिङ पहाड़मा छैटौं अनुसूची जतिसक्दो चाँड़ो लागू गरिनु आवश्यक छ।

किनभने  गृहमन्त्री अमित शाहले संसदका दुवै सदन छैटौं अनुसूची लागू भएको क्षेत्रमा यी कुराहरू लागू हुँदैन भनेर बोलिसकेका छन्।

“हामी सांसद राजु विष्ट र विधायक नीरज जिम्बालाई अनुरोध गर्दछौं, गोर्खा जाति र दार्जीलिङ पहाड़लाई बचाउनका लागि झट्टभन्दा झट्ट संसदमा छैटौं अनुसूचीको बिल ल्याइदिऊन्”, छेत्रीले भने।

उनका अनुसार सीएए, एनआरसी र एनपीआर विषयमा गोरामुमोको स्टेरिङ कमिटीको पछिल्लो निर्णयअनुसार आज मिरिकमा त्यहाँ गोरामुमो समर्थकहरूलाई लिएर बैठक बसिएको थियो। बैठकमा उल्लिखित तीनवटै विषयमा चर्चा परिचर्चा गरिएको थियो।

यसभन्दा अघि गोरामुमोले आफ्ना संस्थापक अध्यक्ष सुवास घिसिङको पाँचौं पुण्यतिथिमा 108 बत्ती बालेर श्रद्धाञ्जली अर्पण गर्‍यो।

अर्कोतिर पहाड़का विभिन्न स्थानमा पनि गोरामुमो कार्यकर्ताहरूले स्व. घिसिङप्रति  श्रद्धाञ्जली अर्पण गरेको जानकारी पाइएको छ।

मिरिकमा  बसिएको आजको बैठकमा गोरामुमो प्रवक्ता महेन्द्र छेत्री, मौरिस कालिकोटे, अजय एड्वर्ड, ॠषि थापा, निमा लामालगायत अन्य उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here