कालेबुङ, 29 जनवरीः गोर्खा जातिलाई पुनः धोका दिनका लागि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले छैटौं अनुसूचीको माग दोहोर्याइरहेको आरोप अखिल भारतीय गोर्खा लिग (प्रताप गुट)-का महासचिव प्रताप खातीले लगाएका छन्।
उनको आरोपका अनुसार गोरामुमो आफैले त्यागिसकेको र जनताले अगावै खारेज गरिसकेको छैटौं अनुसूचीको मागलाई पुनः दोहोर्याउनु भनेको गोर्खा जातिलाई भड़्खालोमा हाल्न खोज्नु हो।
“गोरामुमोले अहिले जनतालाई विश्वासघात गरेर भड़्खालोमा हाल्ने कोशिश गर्दैछ। हाम्रो माग छुट्टै राज्य गोर्खाल्याण्ड हो। हठात् गोरामुमो किन फेरि छैटौं अनुसूचीतिर झर्यो? शङ्का धेरै छ”, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले भने।
गोर्खा लिग महासचिव खातीका अनुसार दार्जीलिङ पहाड़का जनताको सपना, चाहना र एक मात्र माग पनि छुट्टै राज्य गोर्खाल्याण्ड हो, छैटौं अनुसूची होइन।
“गोर्खाल्याण्ड भारतीय संविधानले दिएको प्रावधानअनुसार हामीले मागिरहेको माग हो। गोर्खाल्याण्ड हुनका लागि कुनै शक्तिले रोक्न सक्दैन”, उनले थपे, “तर बीचमा पुगेर कुरा फेर्ने र जनतालाई विश्वासघात गर्नेहरूकै कारण आजका दिनसम्म हामीले गोर्खाल्याण्ड राज्य पाउन नसकेका हौं।”
यसैबीच, उनले गोरामुमोले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङ आएकी भोलिपल्टदेखि छैटौं अनुसूचीको माग गरिरहेको भन्दै शङ्का गरेका छन्।
“स्थायी समाधान छैटौं अनुसूचीभन्दा माथिको व्यवस्था भन्ने गोरामुमोले मुख्यमन्त्री पहाड़ आएको भोलिपल्टदेखि कसरी र के कारण छैटौं अनुसूची भनिरहेको छ? कि गोरामुमोका साथीहरूले कोलकाताको रसदाना खाए?” खातीले भनेका छन्, “कुरा र मुद्दा फेरिरहने पार्टी र नेतृत्वलाई जनताले कहिले विश्वास गर्दैनन्। यस्ता पार्टी र नेतृत्वले जहिल्यै जनतालाई धोकामा राख्ने, विश्वासघात गर्ने काम गर्छन्।”
यसैबीच, उनले गोरामुमोलाई कुरा नफेर्ने सुझाउ दिएका छन्।
“हामीले शुरुदेखि नै गोल पोस्ट नफेरौं भन्दै आइरहेका छौं। अहिले किन गोरामुमोका साथीहरूले गोल पोस्ट फेर्ने कुरा गरिरहेका छन्, हामीले बुझेका छैनौं। हाम्रो उनीहरूलाई अनुरोध छ, गोलपोस्ट नफेरौं। गोर्खाल्याण्डको एक मात्र मागमा हामी अडिग बसौं। एकबद्ध भएर हामीले सङ्घर्ष गरिरह्यौं भने एकदिन गोर्खाल्याण्ड हुन्छै हुन्छ। किनभने छुट्टै राज्य गोर्खाल्याण्ड माग संवैधानिक हो”, गोर्खा लिग महासचि प्रताप खातीले भने।