भाजपाले गोर्खा मुद्दा छिनाउला भनेर पटक्कै विश्वस्त छैन विनय खेमा

0
1226

दार्जीलिङ, 29 जनवरीः संसदको बजेट सत्र आजदेखि शुरू भयो। तर, विनय तामाङपन्थी गोजमुमोलाई यस बजेट सत्रमा पनि गोर्खा जातिसित सम्बन्धित दुइवटा मुद्दा फत्ते हुन्छ भने पटक्कै लागेको छैन।

यदि यस बजेट सत्रमा पनि गोर्खा जातिका 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दिने र स्थायी राजनैतिक समाधानको मुद्दा संसदमा पारित नभए भाजपासित गठबन्धन गर्ने दार्जीलिङ पहाड़का सम्पूर्ण राजनैतिक दलले सांसद राजु बिष्टको राजीनामा माग्नुपर्ने तथा गठबन्धनबाट अलग भएकै उचित हुने विनयपन्थी मोर्चाको भनाइ छ।

आज विनय तामाङपन्थी गोजमुमोका प्रवक्ता केशवराज पोख्रेलले यसमाथि जोड़ दिँदै भने, “दार्जीलिङका लागि स्थायी राजनैतिक समाधान गरिदिने अनि 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दिने मुद्दालाई अघि राखेर नै भाजपाले 2019-को लोकसभा चुनाउमा दार्जीलिङको संसदीय आसनमा जीत हासिल गरेको थियो। तर, आजसम्म पनि यस विषयमाथि भाजपा नेतृत्वावधीन केन्द्र सरकारले कुनै गम्भीरता देखाएको छैन। किनभने, गत दिसम्बर महिनामा केन्द्रिय गृह राज्यमन्त्रीले दार्जीलिङ पहाड़का विभिन्न राजनैतिक पार्टीजस्तै गोरामुमो, क्रामाकपा, गोर्खालीग, गोरानिमो आदिसित गरेको बैठकबारे एक व्यक्तिले गरेको आरटीआईको जवाबमा सरकारबाट बैठकको मिति नै गलत उल्लेख गरिएको छ। यसैबाट केन्द्र सरकार गोर्खा जातिको मुद्दाबारे कति गम्भीर छ भन्ने विषय स्पष्ट हुन्छ।”

उनले थपे, “तरै पनि आजदेखि शुरू भएको बजेट सत्रमा नै गोर्खा जातिका 11 वटा जातसँगै सिक्किमले थपेको अर्को एक जातगोष्ठी माझी गरी कुल 12  जातगोष्ठीलाई जनजातिको मर्यादा दिने काम हुन्छ भन्ने विषयमा पहाड़का जनता धेरै आशावादी छन्। तर, जनजाति र स्थायी राजनैतिक समाधानको मुद्दा यसपालि पनि फत्ते गरिएन भने दार्जीलिङका सांसद अनि भाजपाका नेताहरू दार्जीलिङ पहाड़मा आएर दैलो-दैलो घुमेर भोट नमाग्दा पनि हुन्छ। किनभने, यो बजेट सत्रमा पनि केही नभए भाजपालाई जनताले मुखभरिको जवाब दिनेछन्।”

पोख्रेलका अनुसार तर यी दुवै मुद्दालाई भाजपाले योपालि फत्ते गर्छ भन्ने कुरामा गोर्खा जनमुक्ति मोर्चालाई विश्‍वास नै लागेको छैन।

यसका साथै उनले भाजपालाई स्पष्ट अनि पारदर्शी ढङ्गमा राजनीति गर्ने आह्वान गर्दै केवल जनताका आँखामा धुलो हाल्ने काम मात्रै नगरेको उचित हुने बताएका छन्।

किनभने, विनय तामाङपन्थी गोजमुमोले स्पष्ट अनि पारदर्शी ढङ्गमा राजनीति गरिरहेको पोख्रेलको दावी छ। जसको फलस्वरूप पार्टीले दिएका प्रत्येक वाचा नै एकपछि अर्को गर्दै सफल हुँदै गइरहेका उनको ठोकुवा छ।

यसैअनुसार, पार्टी अध्यक्ष विनय तामाङ र जीटीए बीओएका अध्यक्ष अनित थापाको सक्रियतामा घूम भञ्ज्याङदेखि बिजनबारीसम्मको जीर्ण अवस्थामा पुगेको सड़क मार्गलाई पूर्णरूपले मरम्मती गर्नका लागि राज्य सरकारले 18 करोड़ 45 लाख रुपियाँ अनुमोदन गरेको छ। अब यसको टेन्डर भएपछि मरम्मतीको काम पनि आउँदो 10-12 दिनमा शुरू हुने पोख्रेलले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here