दार्जीलिङ, 29 मार्च: कालेबुङकी 45 वर्षीय महिला कोरोना भाइरस सङ्क्रमित बनेको पुष्टि भएपछि पहाड़का जनताले स्वयंलाई असुरिक्षत अनुभव गर्न थालेका छन्, जुन घटना दार्जीलिङ पहाड़मा नै प्रथम बनेको छ।
अब उक्त महिला चेन्नइबाट कालेबुङ आएपछि उनले को-को-सित भेट गरे, उनको सम्पर्कमा आएकाहरूको अन्य को-कोसित सम्पर्क आए भन्ने जस्ता प्रश्नहरूले झनै जनता आतङ्कित बनिरहेका छन्।
कालेबुङ बजारनिवासी महिला कोरोना पोजिटिभ भएपछि पश्चिम बङ्गालमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ़ेर १८ पुगेको छ।
यसैबीच, अर्कोतिर आज जीटीए बीओएका अध्यक्ष अनित थापाले दार्जीलिङ पहाड़ अर्थात् जीटीए क्षेत्रमा पनि कोभिड-19 (कोरोना भाइरस)-को जाँच केन्द्र स्थापना गर्ने माग गर्दै केन्द्र सरकारलाई पत्र पठाएका छन्।
किनभने, हालसम्म दार्जीलिङ पहाड़मा कोरोना भाइरस जाँचका लागि एउटै पनि केन्द्र छैन, जसको कारण अहिलेसम्म पनि कोरोना भाइरसको सङ्क्रमणको सन्देह मात्रै भए तापनि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा नै जाँच गराउपर्ने अवस्था छ।
यसैले दार्जीलिङ पहाड़का जनताको सुविधालाई केन्द्र गरेर दार्जीलिङ पहाड़मा नै कोरोना जाँच केन्द्र स्थापना गर्नुपर्ने उनको माग छ।
यसका साथै थापाले जीटीए क्षेत्रका जनतालाई घरभित्रै बस्ने अपील पनि गरेका छन्।
उनले भने, ‘केन्द्र सरकार, राज्य सरकार, जीटीए, जिल्ला प्रशासनका साथै पुलिस प्रशासनले कोरोना भाइरसलाई हराउन आ-आफ्नो दायित्व निर्वाह गरिरहेका छन्। डाक्टर, नर्सहरू सबै जनताको ज्यान बचाउन दिन-रात खटिरहेका छन्। तर जनताको सहयोगबिना उनीहरूको यो प्रयास विफल बनेर जानेछ।’
थापाले थप भनेका छन्, ‘जनताको सहयोग भनेको घरभित्र बस्नु हो। जनताबाट यति सहयोग प्राप्त भए यो कोरोना अवश्यै पराजित हुनेछ। तर अहिले पनि मानिसहरू आफ्नो घरबाट बाहिर निस्किएर शहर-बजारमा समय बिताउने काम गरिरहेका छन्।’
यस्तो स्थितिमा कोरोना सङ्क्रमण अझै बढ़ेर जानसक्ने जीटीए अध्यक्षको भनाइ छ। यसैले कोरोना संक्रमणलाई रोक्नु हो भने जनता घरभित्रै बस्नुपर्ने अपील गरेका छन्।
‘किनभने, आजको स्थितिमा संसारकै विकसित देशहरूको स्वास्थ्य परिसेवाहरू नै विफल बनेर गइरहेको छ। यस्तो अवस्थामा जनता आफै सजक बन्नुपर्छ, किनभने प्रत्येकको ज्यान बचाउने उपाय प्रत्येकको हातमा नै छ’, थापाले थप भनेका छन्, ‘यसैले जनताले केही दिन आफ्नो घरभित्र बसेर सहयोग पुऱ्याए, कोरोनालाई हराउन अघि बढ़ेको पहल अवश्यै सफल हुनेछ।’