दार्जीलिङ, २८ अप्रेल : आउँदो १९ मईको दिन सम्पन्न हुने उपचुनाउ आफूले अहिले नै जितिसकेको दाबी स्वतन्त्र उम्मेदवार विनय तामाङले दाबी गरेका छन्। आइतबार चुनाउ प्रचार अभियानको दोस्रो दिन तामाङले यस्तो दाबी गरेका हुन्।
यसअघि जीटीएको बोर्ड अव् एड्मिनिस्टेटर (बीओए)-का अध्यक्ष रहेका उनले उक्त पदबाट राजीनामा दिएर दार्जीलिङ विधानसभाको उपचुनाउमा खड़ा भएका छन्। तामाङले यो उपचुनाउमा तृणमूल कङ्ग्रेसले समर्थन गरेको छ।
शुक्रबार स्वतन्त्र उम्मेदवारको रूपमा नामाङ्कन-पत्र बुझाएका गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले शनिबारदेखि दार्जीलिङ विधानसभा क्षेत्रको सुदूरवर्ती क्षेत्र रिम्बिक-लोधोमा समष्टिका विभिन्नका विभिन्न गाउँहरूबाट चुनाउ प्रचार अभियान शुरु गरेका थिए।
आइतवार पनि उनले रिम्बिक क्षेत्रमा नै चुनाउ प्रचार गरे। यसअवधि आफ्नो जीतमा विश्वस्त देखिएका तामाङले भने, “हामीले चुनाउ जितिसकेका छौं। २३ मईसम्मको प्रतीक्षा केवल औपचारिकता मात्र हो।”
जनताको उत्साह र माया देखेर आफू उत्साहित बनेको पनि विनयले बताएका छन्। आफ्नो चुनाउ प्रचारअवधि उनले रिम्बिक क्षेत्रका विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूसँग बैठक गरे। यसपछि तामाङ लोधोमा बजारमा पथसभा गरेपछि रेलिङ कैजले समष्टि तथा रिम्बिक लोधोमा समष्टिको सीमामा अवस्थित काङ्केबुङमा रम्माम हाइड्रोपावर लिमिटेड तथा एनटीपी सीको कारणले स्थानीय मानिसहरूले भोगिरहेका समस्या बुझ्न पुगे।
त्यहाँका गाउँहरूसँग कुराकानीअवधि स्थानीय मानिसहरूले भोगिरहेको समस्याबारे आफू पूर्ण रूपले परिचित बनेको र अब समस्या समाधानका लागि जीटीए र राज्य सरकारले चाँड़ोभन्दा चाँड़ो कदम उठाउने आश्वासन दिए।
दोस्रो दिन शुक्रबार तामाङले सुम्बुक, झेपी, कैजले बजार आदिको क्षेत्रमा पनि चुनाउ प्रचार गरे। यी ठाउँहरूमा सम्पन्न चुनावी जनसभालाई गोजमुमो दोस्रो खेमाका उपाध्यक्ष सतीश पोखरेल, महकुमा समितिका अध्यक्ष आलोक कान्तमणि थुलुङ, तृणमूल नेता एनबी खवास र केएन सुब्बाले पनि सम्बोधन गरेका थिए।
चुनाउ प्रचार अभियानमा उनले दार्जीलिङ पहाड़का ८७ प्रतिशत भूमिहीन मानिसहरूलाई पर्जापट्टा दिलाउने, पहाड़मा यही वर्षभित्रमा द्विस्तरीय पञ्चायत चुनाउ सम्पन्न गराउने, दार्जीलिङ महकुमाभित्रका ८ वटा खण्डलाई १२ वटा खण्डमा विभाजित गर्ने, सोनादा र सुकेपोखरीलाई नगरपालिका बनाउने, दार्जीलिङ नगरपालिकालाई महानगरपालिका बनाउने तथा विभिन्न थाँतीमा रहेका रोजगार एवं विकासमूलक कार्य पहाड़मा यथाशीघ्र शुरु गर्ने अठोट लिएरै आफू चुनाउमा उत्रिएको दाबी विनय तामाङले जनाए।