कोरोनालाई पराजित गरी घर फर्केकी योद्धा भन्छिन्- इच्छाशक्ति दह्रो भए जस्तै सङ्घर्ष जित्न सकिन्छ

0
1315

खरसाङ, २९ अप्रेलः उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् नर्स प्रतीका प्रधान लगभग २२ दिनको सङ्घर्षपछि कोरोना भाइरसलाई पराजित गरेर घर फर्केकी छन्।

यो सङ्घर्षमा उनले धेरै प्रकारका अनुभव बटुलेकी छन्। धेरैका माया र सहयोग पाएकी छन्। सबैभन्दा ठूलो कुरा, सङ्घर्षमा विचलित नभई कसरी दृढ़ सङ्कल्प लिएर लड़िरहनुपर्छ भन्ने ज्ञान पाएकी छन्।

२२ दिनको उपचारपछि स्वस्थ भई उनी आज घर तीनधारे गोलाइपाखास्थित फर्केकी हुन्। लगातार दोस्रोपटक रिपोर्ट निगेटिभ आएपछि हिजो (मङ्गलबार) राति डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालबाट छुट्टी पाएकी थिइन्। यसभन्दा अघि उनको लगातार पाँचपटक रिपोर्ट पोजिटिभ आएको थियो।

‘‘इच्छाशक्ति भए जस्तै सङ्घर्ष पनि जित्न सकिनेरहेछ’’, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै प्रतीकाले थपिन्, ‘‘एउटा ठूलो सङ्घर्ष जितेको अनुभूति भइरहेको छ। अत्यधिक खुशी भएको छु।‘’

६ अप्रेलका दिन कोरोना टेस्ट पोजिटिभ आएपछि मन बिघ्नै डराएको उनी बताउँछिन्। ‘‘रिपोर्ट सुनेपछि एक प्रकारको डर लागेको थियो। तर, कोरोनालाई जितेर स्वस्थ भई घर फर्किन्छु भन्ने मसँग दृढ़ इच्छाशक्ति थियो’’, उनले भनेकी छन्।

६ अप्रेलका दिन कोरोना टेस्ट पोजिटिभ आएपछि उनी ११ अप्रेलसम्म उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमै उपचाराधीन रहेकी थिइन्। त्यसपछि १२ अप्रेलका दिन उनलाई डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा रेफर गरिएको थियो।

उनी भन्छिन्, कोरोना सङ्क्रमित बनेपछि डर त लाग्छ नै तर हरेश खाइहाल्नु हुँदैन। इच्छाशक्तिलाई दह्रो बनाउनुपर्छ। किनभने मानिसलाई जस्तै ठूलो सङ्घर्षमा पनि जिताउने भने आफ्नो इच्छाशक्ति नै हो।

प्रतीकाले आफूजस्तै ती स्वास्थ्यकर्मीहरूको प्रशंसा गरेकी छन्, जसले कोरोना भाइरसविरुद्धको लड़ाइँ अग्रिमपङ्क्तिमा रहेर लड़िरहेका छन्। ठूलो जोखिम उठाएर आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गरिरहेका छन्।

‘‘एउटा ठूलो जोखिम फ्रण्टलाइन वर्कर्समाथि छ। तर आ-आफ्नो कर्तव्यदेखि विमुख पनि हुनु भएन’’, उनी थप्छिन्, ‘‘सुरक्षित बस्नु ठूलो जिम्मेवारी हो। यो कोरोनाबाट बच्ने सर्वोत्तम उपाय पनि हो। सुरक्षित र सतर्क रहेरै हामी सबैले आ-आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेछ।’’

लगभग एक वर्षअघि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा उनले नर्सको नियुक्ति पाएकी हुन्।

पछिल्लो २६ मार्चका दिन कोरोना सङ्क्रमित कालेबुङनिवासी महिला उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना भएपछि ती महिलाको उपचारमा खटिएको मेडिकल टीममा उनी पनि सामेल थिइन्।

पछि ती महिलाको सम्पर्कमा आएका कारण उनी पनि कोरोना सङ्क्रमित बनिन्।

अब उनी स्वस्थ भएर घर फर्किसकेकी छन्। अघिको चिन्ता अब उनको मनमा छैन न त डर नै। घरका परिवारहरू अत्यधिक खुशी भएका छन्। उनीहरूको मनमा पनि अब चिन्ता र डर केही छैन। यो खुशी उनीहरू सबैका अनुहार सहजै पढ़्नसकिन्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here