दार्जीलिङ, २९ मई : विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा समर्थित दार्जीलिङ नगरपालिकाको वर्तमान बोर्ड अल्पमत मतमा परेको छ। अल्ममतमा परेसँगै वर्तमान नगराध्यक्ष प्रतिभा तामाङ (राई)-को चौकी धरापमा परेको छ।
बुधबार बोर्ड गठनका लागि विमल गुरुङसमर्थित १८ जना नगरपार्षद्ले दाबी जनाएका छन्। वान्ड नम्बर-६ का नगरपार्षद् एवं विमलपन्थी गोजयुमोका कार्यकारी अध्यक्ष नमन राईको नेतृत्वमा नगरपालिका पुगेका यी १८ जना नगरपार्षद्ले बोर्ड गठनका दाबी गरेका हुन्।
उनीहरूले वर्तमान नगराध्यक्ष प्रतिभा तामाङ (राई)-लाई १८ जना नगरपार्षद्को नाम र हस्ताक्षरसहितको दाबी सुम्पिएका छन्। ती १८ जना नगरपार्षद्हरू मीरा राई (वार्ड नम्बर -१), उषा विश्वकर्म (वार्ड-२), मिञ्जुर योल्मो (वार्ड-४), नमन राई (वार्ड-६), अनुपहाङ सुब्बा (वार्ड-९), तर्पण रुम्बा (वार्ड-११), नीलम मुखिया (वार्ड-१३), महिमा राणा (वार्ड-१४), रेणुका गुरुङ (वार्ड-१६), गणेश सार्की (वार्ड-१८), विनीता तामाङ (वार्ड-२१) सुमति शेर्पा (वार्ड-२२), राधा न्यौपाने (वार्ड-२६), प्रवीण कालिकोटे (वार्ड-२७), लाक्पा शेर्पा (वार्ड-२८), दीपा घिसिङ (वार्ड-२९), अम्बिका शर्मा (३०) र गोपाल छेत्री (वार्ड-३२) छन्।
नगरपार्षद् एवं युमो नेता नमन राईले अन्य केही नगरपार्षद्हरू पनि सम्पर्कमा रहेको र उनीहरूले पनि अल्पमतमा परेको वर्तमान बोर्ड छोड़ेर आफूहरूकहाँ सामेल हुने दाबी गरेका छन्।
उल्लेखनीय छ, ३२ वार्ड रहेको दार्जीलिङ नगरपालिकामा वर्तमानमा ३० जना नगरपार्षद् छन्। रहल दुईजना नगरपार्षदमध्ये वार्ड नम्बर २० का नगरपार्षद् मणि प्रधानको निधन भइसकेको छ भने वार्ड-१७ का नगरपार्षद् रामजन गोलेले आफ्नो पदबाट अगावै राजीनामा दिइसकेका छन्।
यसैले बोर्ड गठनका लागि कम्तीमा १६ जना नगरपार्षद्को आवश्यकता पर्दछ। यद्यपि विमलपन्थी नगरपार्षद्हरूको सङ्ख्या १८ छ।