दिल्लीबाट फर्केकी भूटानकी युवती कोरोना सङ्क्रमित, प्रशासन सतर्क

0
1064
प्रतीकात्मक तस्वीर।

सिलगढ़ी, २९ मईः पछिल्लो २५ मईका दिन गुड़गाउँबाट एक ट्रेनमार्फत् आफ्नो घर फर्केकी भूटानी युवती कोरोना सङ्क्रमित बनेपछि प्रशासन सतर्क बनेको छ।

२५ मईका दिन एनजेपी आइपुगेकी ती युवती सिलगढ़ीबाट ट्याक्सी भाड़ा गरी जयगाउँसम्म पुगेकी थिइन्।

त्यसपछि त्यहाँबाट ती युवती हिँड़ेरै भूटान आफ्नो घर गएकी थिइन्। जानकारीका अनुसार २३ वर्षीय ती युवती जयगाउँ संलग्न फुन्सेलिङनिवासी हुन्।

बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादका अनुसार ती युवती कोरोना सङ्क्रमित रहेको बुधवार भूटान सरकारले जनाएको छ।

भूटान प्रवेश गरेलगत्तै त्यहाँका सरकारले युवतीलाई क्वारेन्टिन गरी कोरोना टेस्टका लागि स्वाबको नमूना जाँचका लागि पठाइएको थियो भने बुधबार उनको रिपोर्ट पोजिटिभ आएको बताइएको छ।

प्रशासनले ती युवतीलाई जयगाउँसम्म लिएर जाने ट्याक्सी चालकबारे जानकारी सङ्ग्रहित गर्ने कार्य गरेको बताइएको छ।

विशेषगरी ट्याक्सी चालक प्रत्यक्ष रूपले ती युवतीको सम्पर्क आएन/आएनन्, घर फर्केपछि ती चालक ककसको सम्पर्क आए भन्नेबारे प्रशासनले छानबिन शुरू गरेको छ।

उत्तरबङ्ग संवादका समाचारका अनुसार जयगाउँका अतिरिक्त पुलिस सुपर कुन्तल बन्धोपाध्ययले उक्त ट्याक्सीको नम्बरलगायत सम्पूर्ण जानकारी सिलगढ़ी थानामा दिइएको छ।

अर्कोतिर भूटानकी ती युवती जुन ट्रेनमार्फत् सिलगढ़ी एनजेपी आइपुगेकी थिइन्, त्यस ट्रेनमा दार्जीलिङ, कालेबुङ र डुवर्सका अन्य यात्रुहरू पनि सवार रहेको प्रशासनिक सूत्रले बताएको छ।

अर्कोतिर, दार्जीलिङका जिल्लापाल एस. पोन्नमबालमले जनसंवादलाई बताएअनुसार ती कोरोना सङ्क्रमित पाइएकी ती युवतीसँग रेल यात्रा गर्ने दार्जीलिङका एक युवक र दुई युवतीलाई चिह्नित गरिएको छ। उनीहरूमध्ये एकजना युवकको स्वाब टेस्ट भइसकेका र दुईजना युवतीको सम्भवतः आज स्वाब टेस्ट गरिने जिल्लापालले बताएका छन्।

उनका अनुसार यद्यपि भूटानी युवती कोरोना सङ्क्रमित रहेको पुष्टिबारे आजसम्म भूटान सरकारको तर्फबाट कुनै आधिकारिक जानकारी जिल्ला प्रशासनलाई आएको छैन।

हिजो बेलुकी ज्वरो र खोकीका कारण दार्जीलिङ अस्ततालमा भर्ना गरिएको तथा त्यहाँबाट उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा रेफर गरिएका दार्जीलिङनिवासी युवक पनि ती भूटानी युवतीसँग एनजेपीसम्म रेल यात्रा गरेको जिल्लापालको भनाइ छ। यद्यपि टेस्ट रिपोर्ट नआएसम्म त्रसित नभईदिने उनले मानिसहरूलाई अपील गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here