सिलगढ़ी, २९ मईः सिलगढ़ीमा थप एकजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। कोरोना सङ्क्रमित ती व्यक्ति खोरीबारीनिवासी रहेको बताइएको छ।
जानकारीका अनुसार केही दिनअघि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आइसोलेशन वार्डमा भर्ना ती व्यक्तिको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।
कोरोना पोजिटिभ पाइएपछि ती व्यक्तिलाई उपचारका लागि मतिगढ़ाको हिमाचल विहारस्थित डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा भर्ना गरिएको छ।
उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल सूत्रका अनुसार ती व्यक्ति पनि क्यान्सर रोगी हुन्।
उल्लेखनीय छ, केही दिनअघि खोरीबारीनिवासी ५९ वर्षीय महिला कोरोना पोजिटिभ पाइएको थियो। ती महिला पनि क्यान्सर रोगी हुन्।
पछिल्लो मार्च महिनामा क्यान्सरको उपचार गर्न दुवै मुम्बई गएका थिए भने २२ मईका दिन एम्बुलेन्समार्फत सिलगढ़ी खोरीबारी फर्केका थिए।
त्यसपछि उनीहरूलाई बतासेस्थित क्वारेन्टिन सेन्टरमा राखिएको थियो। त्यहाँ ती महिलामा कोरोना भाइरसको लक्षण देखापरेपछि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो केही दिनअघि उनको कोरोना टेस्ट पोजिटिभ आएको थियो।
त्यसपछि ती व्यक्तिलाई पनि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरी कोरोना टेस्ट गरिएको थियो भने उनको पनि टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।
उल्लेखनीय छ, पछिल्लो १८ मईका दिनयता सिलगढ़ी क्षेत्रमा एकपछि अर्का गरी कोरोना सङ्क्रमणका मामिला प्रकाशमा आइरहेको छ।