कोलकाता, २९ मईः राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आउँदो ८ जूनदेखि सबै सरकारी-गैरसरकारी कार्यालय खुल्ला राख्ने बताएकी छन्।
उनका अनुसार सबै कार्यालयमा शतप्रतिशत क्षमता (कार्यबल) सहित काम गर्ने अनुमति दिइनेछ।
यसका साथै आउँदो १ जूनदेखि चिया र जूट उद्योगमा १०० प्रतिशत श्रमिकसहित काम लगाउने अनुमति दिइएको छ। यद्यपि राज्यका सम्पूर्ण शैक्षिक संस्थान जून महिनाभरि बन्द रहनेछन्।
आज राज्य सचिवालय नवान्नमा आयोजित संवाददाता सम्मेलनमा मुख्यमन्त्रीले यसबारे जानकारी गराएकी हुन्।
अर्कोतिर मुख्यमन्त्रीले आउँदो १ जूनदेखि राज्यका सबै धार्मिकस्थल बिहान १० बजेदेखि खुल्ला रहने तर धार्मिकस्थलमा एक समयमा १० जनाभन्दा बढ़ी श्रद्धालुहरूलाई प्रवेशको अनुमति नदिइने बताएकी छन्।
यसैबीच ममताले पछिल्लो २ महिनाभित्र राज्य सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिनदेखि रोक्न सफल भएको तर अहिले राज्यमा कोरोना सङ्क्रमणको मामिला बढ़्दै गएको बताइन्।
मुख्यमन्त्रीका अनुसार बाहिर रहेका मानिसहरू राज्य फर्किन थालेपछि बङ्गालमा कोरोना सङ्क्रमण बढ़ेको हो।
यसैगरी राजमार्ग र जिल्लाका सड़कहरू पनि पुनः खुल्ला राख्ने उनले घोषणा गरिन्।
“सरकारी र निजी बसहरूमा जति सीट छ, त्यति सङ्ख्यामा मात्र यात्रुहरूले यात्रा गर्न सक्नेछन्’’, उनले थपिन्, “यद्यपि सबै यात्री, बस कन्डक्टर र चालकले ह्यान्ड ग्लब र मास्कको प्रयोग गर्नु पर्नेछ। साथै बसहरूलाई सेनिटाइज पनि गरिनुपर्छ।”
यसैबीच उनले चक्रवाती तूफान अम्फानका कारण राज्यमा मर्नेहरूका सङ्ख्या ८६ बाट बढ़ेर ९८ पुगेको जानकारी गराइन्।
समाचारको संकलन एक दमै रामरो छ । सधै यसरी ताजा समाचार पढन पाऊं । धन्यवाद ।