दार्जीलिङ, 29 मईः वरिष्ठ पत्रकार रविन गिरी अब हामीमाझ सशरीर रहेनन्। आज बेलुकी करिब 5.30 बजी 57 वर्षको उमेरमा उनको निधन भयो।
पारिवारिक सूत्रका अनुसार केही समयदेखि उनी बिरामी थिए।
12 दिनसम्म अस्पतालमा उपचाराधीन रहेर निको भएपछि दुई दिनअघि मात्र उनले अस्पतालबाट छुट्टी पाएका थिए। तर, आज फेरि उनी बिरामी भएपछि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको पारिवारिक सूत्रमार्फत् जानकारी पाइएको छ।
प्रेस गिल्ड दार्जीलिङका सदस्यसमेत रहेका रविन गिरीले 90-को दशकको आरम्भदेखि पत्रकारिता शुरू गरेका थिए। उनले आफ्नो जीवनकालमा नेपाली अङ्ग्रेजी र बङ्ग्ला भाषाका दैनिक समाचार आदिमा सम्बद्ध दार्जीलिङबाट पत्रकारिता गरेका थिए। पछिल्लो समय उनी बङ्ग्ला र हिन्दी दैनिकसँग सम्बद्ध थिए।
उनको निधनमा प्रेस गिल्ड दार्जीलिङले गहिरो शोक प्रकट गरेको छ। रविन गिरीले आफूपछि पत्नी र छोरी छोड़िगएका छन्।