तेञ्जिङ शेर्पाको जन्मजयन्तीको अवसरमा राधानाथ सिकदरको सालिक र पुस्तकालयको उद्घाटन

0
1010

दार्जीलिङ, 29 मई: विश्वकै सर्वोच्च शिखर माउण्ट एभरेस्टको नाम माउण्ट सिकदर राख्ने दिशामा मन्थन शुरू भएको छ।

दार्जीलिङको हिमालयन पर्वतारोहण संस्थान (एचएमआई)-का प्राचार्य क्याप्टन जय किशनको भनाइ र सोचबाट यस्तो स्पष्ट सङ्केत पाइएको छ।

आज हिमपुरुष तेञ्जिङ शेर्पाको 107औं जन्म जयन्ती साथै माउण्ट एभरेस्ट विजय दिवसको अवसरमा यस्तो सोच स्पष्ट भएपछि यसले आगामी दिनमा निकै चर्चा चुलाउने सम्भावना पनि बढ़ाएको छ।

क्याप्टन जय किशनले भनाइ छ, “माउण्ट एभरेस्टलाई नेपालले सागरमाथा भन्ने गरेको छ भने चीनले यसलाई चोमालोङ्गा नाम दिएको छ। तब भारतीय पर्वतारोहीहरू वा भारतीयहरूले माउण्ट एभरेस्टलाई माउण्ट सिकदर वा सिकदर शिखर किन नभन्ने?”

यसै सोचलाई अझै जोड़ दिने उद्देश्यले नै आज दार्जीलिङको हिमालयन पर्वतारोहण संस्थान परिसरमा राधानाथ सिकदरलाई गतिलैसित सम्मान प्रदान गरिएको थियो।

आज उनकै सम्मानमा सिकदर भवन र सिकदर पुस्तकालयको उद्घाटन गरियो भने उनको सालिक पनि अनावरण गरियो।

एचएमआईका प्राचार्य क्याप्टन जय किशनका अनुसार भारतीय पर्वतारोहीहरू वा भारतीयहरूले माउण्ट एभरेस्टलाई माउण्ट सिकदर वा सिकदर शिखरको नाम दिए असल हुनेछ।

यसो गरिएको खण्डमा भारतका महान् गणितज्ञ राधानाथ सिकदरले साँचो सम्मान पाउने पनि उनको भनाइ छ।

राधानाथ सिकदर एक महान् भारतीय गणितज्ञ थिए, जसले विश्वको सर्वोच्च शिखर माउण्ट एभरेस्टको उँचाइको हिसाब लगाएका थिए।

भारतका एक महान् गणितज्ञ जसको विशेषता गोलाकार त्रिकोणमिती अर्थात् स्फेरिकल ट्रिग्नोमेट्रीमा थियो।

सन् 1813-मा बङ्गालमा जन्मेका सिकदरले सर्वप्रथम सन् 1852-मा माउण्ट एभरेस्टको उँचाइ 8,848 मिटर रहेको हिसाब लगाएका थिए।

यिनै महान् व्यक्तित्वलाई सम्मान दिनका लागि नै एचएमआईका वर्तमान प्राचार्य क्याप्टन जय किशनले यहाँ सिकदरको सालिग निर्माण गर्ने, एउटा भवन र पुस्तकालय उनको नाममा समर्पित गर्ने योजना बनाएका हुन्, जसको आज माउण्ट एभरेस्ट विजय दिवसकै अवसर पारेर उद्घाटन गरिएको छ।

स्मरण गराइन्छ, 29 मई 1953-का दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलेरीले विश्वको सर्वोच्च शिखर माउण्ट एभरेस्टको सफलतापूर्वक आरोहण गरेर एक इतिहास कायम गरेका थिए।

यसै दिनलाई प्रत्येक वर्ष नै भव्यताका साथ पालन गर्ने गरिन्छ। तर, यसपालि कोरोना सङ्क्रमणको बढ़्दो सङ्कटलाई ध्यानमा राखेर हिमालयन पर्वतारोहण संस्थानले केही व्यक्तिविशेषलाई मात्रै निम्ताएर तेञ्जिङ नोर्गे शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको थियो।

यस अवसरमा संस्थानका केही अधिकारी अनि युनाइटेड शेर्पा एसोसिएशनका केही पदाधिकारीवर्गको मात्रै उपस्थिति रहेको थियो, जसले एक प्रार्थना सभाको आयोजन गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here