दार्जीलिङ, २९ जून : जीटीएले विकासे दाबी गरिरहेको समय मुङ्पेल पुलकाण्ड बल्झिन सक्ने अर्को दुर्घटना पर्खेर बसेको पुल हो- छोटा रङ्गीत खोलामा बनाइएको सोम-परबोङलाई जोड़्ने बाँसको कच्चा पुल। यो पुल तकभर समष्टिको सिङ्ताम ग्राम पञ्चायत एकाइमा पर्छ।
बाँसको कच्ची यो पुलले केवल सोम-परबोङलाई मात्र जोड़्दैन, तर वरपरका मानिसहरूले यसै पुल तरेर पुल-बिजनबारीसम्म जानुपर्ने आवश्यकता छ।
स्थानीयवासी तुलाराम शर्माका अनुसार क्षेत्रवासी जोखिम उठाएर पछिल्ला तीस वर्षदेखि बाँसको फड़्के बनाएर गर्जो टार्दै आइरहेका छन्। बर्खे मौसममा उर्लिँदो छोटा रङ्गीत बाँसको कच्ची पुलमार्फत् पार गर्नु अत्यन्त जोखिमपूर्ण कार्य हो। विशेष खोलापारि खेती गर्ने र पुल-बिजनबारीतिर पढ़्न जाने विद्यार्थीहरूले ज्यान जोखिममा राखेर सधैँ यो भत्किसकेको पुल भएर उर्लिँदो छोटा रङ्गीत पार गर्नुपर्ने बाध्यता छ।
अहिलेसम्म पुल निर्माणका लागि सम्बन्धित विभागले कुनै पहल गरेको छैन’, शर्मा भन्छन्, ‘करिब 30 वर्षदेखि वरपरका मानिसहरू आफै मिलेर बाँसको पुल बनाएर गर्जो टार्दै आइरहेका छन्।’
पुलको अवस्था हेर्दा र स्थानीयवासी तुलाराम शर्माहरूको कुरा सुन्दा यो पुल जीटीए र सम्बन्धित निकायको आँखामा नै परेको छैन। यदि परेका भए यतिबेला पुलको निर्माण भइसक्ने थियो अथवा पहल भइरहेको हुनेथियो। यसबाट पनि सम्बन्धित निकायको लापरवाही स्पष्ट रूपमा दृष्टिगोचर हुन्छ। जीटीए र सम्बन्धित निकायले पुलको वर्तमान अवस्था समुचित सर्वेक्षण गरी ठोस पहल गरिदिनुपर्ने पनि स्थानीय मानिसहरूको पक्षमा शर्माले माग गरेका छन्। यदि पक्की पुलको निर्माण भएमा वरपरका धेरै गाउँहरू लाभान्वित हुने उनको भनाइ छ।
उल्लेखनीय छ, प्रत्येकपपट दुर्घटना भइसकेर मात्र निद्राबाट ब्युँझेर हर्कतमा आउने सम्बन्धित विभागले के छोटा रङ्गीतमा बनेको यो बाँसको कच्ची पुलमा पनि दुर्घटना पर्खेरै बसिरहेको हो त? प्रश्न गम्भीर छ। कुनै प्रकारको दुर्घटना हुनअघि नै सम्बन्धित निकायले यसबारे ठोस पदक्षेप चाल्नुपर्ने आवश्यकता टट्कारो देखिएको छ।