प्रकाशमणि प्रधानकृत विधा विमर्श लोकार्पित

0
2146
पुस्तकमाथि बोल्दै वरिष्ठ साहित्यकार नरबहादुर दाहाल।

सिलगढ़ी, 29 जून : कुनै पनि लेखकका लागि उसको पहिलो कृति महत्त्वपूर्ण हुने वरिष्ठ साहित्यकार नरबहादुर दाहालले बताएका छन्।

निरन्तर लेखिरहने ‘लो प्रोफाइल’  लेखक प्रकाशमणि प्रधानका समीक्षात्मक लेखहरूको सङ्ग्रह ‘विधा विमर्श’-को लोकार्पण कार्यक्रममा बोल्दै दाहालले यस्तो मन्तव्य पोखेका हुन्। उनी कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। विधा विमर्श प्रधानको पहिलो कृति हो।

“लेखकहरूका लागि पहिलो कृति महत्त्वपूर्ण हुन्छ। किनभने पहिलो कृतिले नै लेखकहरूको परिचयका लागि पछिसम्म काम गर्छ”, उनले थपे, “यस अर्थले पनि प्रकाशमणि प्रधान प्रकाशित पहिलो कृति विधा विमर्श महत्त्वपूर्ण कृति हुनगएको छ।”

यी वरिष्ठ साहित्यकारले एकातिर नेपाली साहित्यको उन्नति नै पुस्तकहरूको निरन्तर प्रकाशन रहेकोले तथा अहिले भारतेली नेपाली साहित्यमा पुस्तक प्रकाशनमा वृद्धि भइरहेकोमा खुशी व्यक्त गरे भने अर्कोतिर विश्व साहित्यमा पढ़िने थोरै मात्र पुस्तक भारतीय नेपाली साहित्यले दिनसकेको सत्यतातिर इङ्गित गरे।

कार्यक्रम सालबारीस्थित सेवा समाज भवनमा सम्पन्न भएको थियो। कार्यक्रमलाई वरिष्ठ लेखक/नाटककार पी. अर्जुनले अध्यक्षता गरेका थिए भने अन्य अतिथिहरूको रूपमा वरिष्ठ साहित्यकार मोहन ठकुरी, ज्ञानेन्द्र खतिवड़ा, उर्मिला रूम्बा, फानुस सादा, मिलन रूचाल र छविलाल लामिछानेलगायत अन्य उपस्थित थिए। उनीहरूकै हातबाट विधा विमर्शको लोकार्पण गरिएको थियो।

बी कमल राई र पीटी यल्मोको सक्रियतामा सम्पन्न लोकार्पण कार्यक्रमलाई साहित्यकार कालुसिंह रनपहेंलीले सञ्चालन गरेका थिए। त्यसैगरी लोकार्पित कृतिमाथि सुकराज दियालीले टिप्पणी राखेका थिए।

सिलगढ़ी, खरसाङ, तीनधारेलगायत अन्य स्थानका साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रममा मिलन प्रधान, मन विश्व, नितेश राई र बी कमल राईले आ-आफ्नो रचना वाचन गरेका थिए।

कार्यक्रमकै अवसरमा पुस्तक प्रकाशनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै ज्ञानकुञ्ज प्रकाशनका हर्ताकर्ता सञ्जीव छेत्री र बी कमल राईलाई सम्मान जनाइएको थियो।

उल्लेखनीय छ, शिक्षण पेशाबाट अवकाश ग्रहण गरेका प्रधान ‘लो प्रोफाइल’ प्रवृत्तिका लेखक हुन्। हल्लाहरूबाट पर बस्न रूचाउने प्रकाशमणि प्रधानको विधा विमर्श पहिलो कृति हो। यसभन्दा अघि उनका फुटकर लेखहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here