सिलगढ़ी, 29 जुलाई : जलपाइगढ़ीस्थित जलपाइगढ़ी रोड स्टेशनबाट चार सन्दिग्ध रोहिङ्ग्य पक्रा परेका छन्। जानकारीका अनुसार आइतवार बिहान यी चारैजना रोहिङ्ग्यलाई आरपीएफले जलपाइगढ़ी रोड स्टेशनबाट पक्राउ गरेको हो। पक्रा परेका रोहिङ्ग्यहरू अगरतलाबाट कञ्चनजङ्घा एक्सप्रेस चढ़ेर दिल्लीतर्फ गइरहेका थिए।
जानकारीका अनुसार जलपाइगढ़ी रोड स्टेशनमा झरेका उनीहरूको वार्तालाप भाषाले शङ्का उत्पन भएपछि आरपीएफले पक्राउ गरेर केरकार गर्दा रोहिङ्ग्य रहेको खुलाइएको छ। आरपीएफ सूत्रका अनुसार पक्रा परेका रोहिङ्ग्याहरूमा मोहम्मद रफिद, उनकी पत्नी अनवारा बेगम, दिलदार बेगम र यासिन आरा रहेका छन्। सूत्रका अनुसार उनीहरूबाट युनाइटेड नेशन्स हाइ कमिश्नर फर् रिफ्युजी (युएनएचसीआर) –ले जारी गरेको पत्र पनि जफत गरिएको छ। जसमा उनीहरूलाई स्पष्ट रूपमा रोहिङ्ग्या शरणार्थी बताइएको छ। यद्यपि उक्त पत्रको म्याद पछिल्लो 7 जूनकै दिन सकिएको थप जनाइएको छ।
आरपीएफका निरीक्षक सुनिल कुमारका सूत्रका अनुसार बङ्ग्लादेशको एक शरणार्थी शिविरमा रहेका यी चारैजना रोहिङ्ग्या शरणार्थी पछिल्लो 26 जुलाईको दिन त्रिपुरा छिरेका थिए। त्यसपछि अघिल्लो दिन उनीहरू दिल्ली जानका लागि कञ्चनजङ्घा एक्सप्रेस चढ़ेका थिए।
उनका अनुसार यी शरणार्थीहरू वास्तवमा न्यु जलपाइगढ़ी स्टेशनमा झर्नुपर्ने थियो, तर गल्तीले जलपाइगढ़ी रोड स्टेशनमा झरे। उनीहरूको बोलीचालीका भाषाले शङ्का जागेपछि आरपीएफले चारैजनालाई हिरासतमा लिएर छानबिन र केरकार गरेको हो। यी चारैजना रोहिङ्ग्यालाई मैनागढ़ीको जीआरपी थानालाई सुम्पिएको छ।