उच्छेदको नोटिसविरुद्ध लालफा वनबस्तीवासीद्वारा धरना प्रदर्शन

0
1434
धरना प्रदर्शनमा बसेका लालफा वनबस्तीका मानिसहरू।

सिलगढ़ी, 29 जुलाई : स्थानीय बाघडुग्रा फरेस्ट रेञ्जअन्तर्गत पर्ने लालफा वनबस्तीका गाउँलेहरूले सोमवार स्थानीय रेञ्जर कार्यालयमा उच्छेदको आदेशविरुद्ध धरना प्रदर्शन गरे। यसअवधि उनीहरूले वनविभागसँग उच्छेदको आदेशलाई फिर्ता लिने माग गरे।  लालफा वनबस्तीका मानिसहरूका अनुसार उनीहरू यहाँ वर्षौं अघिदेखि बस्दै आएका छन्। यदि वनविभागले उनीहरूलाई जबर्जस्ती उच्छेद गरेमा अन्यत्र गएर बस्ने विकल्प नै छैन।

जानकारीका अनुसार आज वन विभागका रेञ्जले ती वनबस्तीवासीलाई यसबारे बैठक गर्नका लागि बोलाएका थिए। तर, बैठकपूर्वक नै रेञ्जर कोलकाता प्रस्थान गरेको थाहपछि उनीहरू आ-आफ्नो दस्तावेज र विभिन्न विभागलाई तिरेका शुल्कको पर्चीसहित धरनामा बसे। लालफा वनबस्तीका मानिसहरूको भनाइका अनुसार उनीहरू विदेशी होइनन्, तत्कालीन वाममोर्चा सरकारद्वारा प्रदान गरिएको जमिनमा नै उनीहरू बस्दै आएका छन्। उनीहरूले विभागलाई नोटिस फिर्ता लिएर अघिदेखि बस्दै आएको जमिनमा बस्ने अनुमति दिने अनुरोध पनि गरेका छन्। साथै जङ्गल बचाउनका साथै जङ्गली जनावरहरूलाई क्षति नपुर्‍याउने वचनबद्धता पनि जाहेर गरेका छन्।

स्थानीय मनु राईले भनिन्, “आज हामीलाई रेञ्जरले बैठकका लागि बोलाएका थिए।  साथै उनले हामीलाई आ-आफ्नो दस्तावेजहरू प्रस्तुत गर्न भनेका थिए। हामीले सबै दस्तावेज ल्याएर आएका थियौं, तर रेञ्जर  बैठक हुनअघि नै कोलकाता गइसकेको हामीलाई कर्मचारीहरूले जानकारी गराए।” उनका अनुसार वनअधिकारीहरूले अब आउँदो साता बैठक निर्धारित गरेका छन्। उल्लेखनीय छ, वर्षौंदेखि लालफा वनबस्तीमा बस्दै आएका मानिसहरूलाई जमिन खाली गर्ने आदेश दिएर वन विभागले नोटिस पठाएपछि उनीहरूमा विस्थापनको भय बढ़ेको छ। वन विभागले नोटिसकै कारण अहिले  उनीहरू भयभीत भएका छन्।

अर्कोतिर आज कङ्ग्रेस विधायक शङ्कर मालाकारले ती वनबस्तीवासीहरूलाई भेट गरी आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्। आज स्थानीय  विधायक मालाकार र सिलगढ़ी महकुमा परिषद्का सभाधिपति तापस चक्रवर्तीले उनीहरूसँग कुराकानी गरे। यसबारे बोल्दै कङ्ग्रेस विधायकले भने, “यी गरीब मानिसहरू वर्षौं अघिदेखि यहाँ बस्दै आइरहेका छन्।” यसअवसरमा मालाकारले वन विभागका अधिकारीहरूसँग पनि भेटवार्ता गरे। उनले यो मुद्दा सम्बन्धमा डीएफओसँग बैठक  गर्ने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here