3 सेप्टेम्बर ममता दार्जीलिङ आउने, 5 -मा ग्रीनफिल्ड युनिभर्सिटीको शिलान्यास गर्ने

0
1056
लालकोठीमा पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीएका बीओए अध्यक्ष विनय तामाङ।

दार्जीलिङ, 29 अगस्त :  राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पुनः दार्जीलिङ आइरहेकी छन्। बुधवार गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए)-का बोर्ड अफ् एड्मिनिस्टेटर (बीओए) अध्यक्ष विनय तामाङले पत्रकारहरूलाई जानकारी गराएअनुसार मुख्यमन्त्री आगामी 3 सेप्टेम्बरको दिन दार्जीलिङ आउनेछिन्। तामाङले स्थानीय लालकोठीमा आज एक पत्रकार सम्मेलन डाकेर यस आशयको जानकारी दिएका हुन्। तामाङका अनुसार यो भ्रमणअवधि 5 सेप्टेम्बरको दिन  मङ्पूको जोगीघाटमा बनिने भनिएको  राज्य विश्वविद्यालय ग्रीनफिल्ड’-को शिलान्यास गर्नेछिन्। यसैअवसरमा  मुख्यमन्त्रीले पहाड़का लागि अन्य विकासकार्यको उद्घाटन तथा शिलान्यास गर्नेछिन्। जोगीघाटमा बनिने राज्य विश्वविद्यालयको शिलान्यास उनले 5 सेप्टेम्बरको दिन चौरस्तामा आयोजित एक कार्यक्रमबाट गर्नेछिन्।
“3 सेप्टेम्बरको दिन मुख्यमन्त्री  दार्जीलिङ पहाड़ आउनेछिन्। उनले चौरस्ता परिसरबाट 5 सेप्टेम्बरको दिन ग्रीनफिल्ड युनिभर्सिटीको शिलान्यास गर्नेछिन्”, विनयले पत्रकारहरूलाई जानकारी गराए। साथै चौरस्ता परिसरको सुन्दरीकरण लागि जीटीएको तर्फबाट कुल 6 करोड़ लागतमा भइरहेको परियोजनाको पनि यसै दिन  ममताले शिलान्यास गर्ने उनले बताएका छन्। चौरस्ता परिसरको सुन्दरीकरणका लागि जीटीएले दुई चरणमा 12 करोड़को लगातमा  सुन्दरीकरणको कार्य गर्नेछ।  पहिलो चरणमा 6 करोड़को टेण्टर पनि भइसकेको छ”, तामाङले भने।
अर्कोतिर, जीटीएका बीओए अध्यक्षका अनुसार मुख्यमन्त्रीको यो भ्रमणको दोस्रो दिन अर्थात् 4 सेप्टेम्बरको दिन जीटीएद्वारा सञ्चालित विकासकार्य र विकासका योजनाहरूलाई लिएर मुख्यमन्त्रीसँग जीटीएले बैठक गर्नेछ। यद्यपि यो बैठकबारे अहिले आधिकारिक रूपले निर्धारित नभइहालेको उनको भनाइ छ।
विनयका अनुसार यो बैठक मुख्यमन्त्री ममता ब्यानर्जीसित जीटीएको पक्षबाट शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटनलगायत अन्य थुप्रै विषयमा चर्चा-परिचर्चा गर्ने पनि बताएका छन्। साथै बैठकमा जीटीएको तर्फबाट दार्जीलिङ, खरसाङ, मिरिक आदि क्षेत्रमा थप कार पार्किङ बनाइने, दिल्ली र कोलकाताको गोर्खा भवनको मरम्मती गरिने, अलगढ़ा, गोरूबथानलगायत अन्य आवश्यक स्थलहरूमा अग्निशमन केन्द्रहरूको निर्माणकार्य चा़ँडै शुरु गरिनुपर्ने विषयमा चर्चापरिचर्चा गरिनेछ।
यता, मुख्यमन्त्रीलाई जीटीए र गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दुवै मिलेर भव्य स्वागत गर्नका लागि जुटिसकेको पनि उनले बताए। विनयका अनुसार ममतालाई बाघडुग्रादेखि दार्जीलिङ शहरसम्मै स्वागत गर्नेछ। मुख्यमन्त्रीलाई स्वागत जनाउन गोजमुमोका कार्यकर्ताहरू विभिन्न ठाउँमा जुट्नेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here