के तपाईंले 1961 –मा रिलिज भएको फिल्म ‘जङ्गली’ हेर्नुभयो? यदि तपाईंले यो फिल्म हेर्नु भएको छैन भने यो फिल्मको गीत ‘चाहे कोइ मुझे जङ्गली कहे’ त अवश्यै हेर्नुभएको होला। यो गीत आज पनि सुपरहिट छ। यसमा कलाकार शम्मी कपुरले पूरा मस्तीसँग डान्स गरेका छन्। शम्मी कपुरको यसै ‘पागल अन्दाज’-ले उनलाई बलिवुडका सुपरस्टार बनाएको हो।
शम्मी कपुर एक ‘जङ्गली अन्दाज’-का कलाकार थिए। उनको अभिनयलाई कुनै एक परिभाषामा बाँध्न सकिँदैन। उनको यो अन्दाज त्यस समयका अन्य कलाकारभन्दा एकदमै भिन्न थियो। यति मात्र होइन कसैले पनि यो अभिनयलाई काट्ने अर्को विकल्प खोजेर पाएनन्।
आफ्नो फिल्ममा उनी सधैँ नाँचिरहेको-कुदिरहेको देखिन्थे। संवाद बोल्ने उनको अन्दाज पनि अरूभन्दा भिन्नै थियो। यसैको फरक अन्दाजको सहायतामा उनले बलिवुडमा आधुनिक अभियनलाई जन्म दिए। यो अभिनयमा पश्चिमको ‘रक एन्ड रोल’-को मिश्रण पनि थियो।
इन्जिनियर बन्ने सपना
50-को दशकमा अभिनयको पुरानो ढर्रालाई फ्याँकेर त्यसमा नयाँपनको जलप लगाउने सुपरस्टार शम्मी कपुरको जन्म 21 अक्टोबर 1931 –मा भएको थियो। उनको बाल्यकाल पेशावारमा बित्यो। उनका पिता पृथ्वीराज कपुर थिए। यी ती पृथ्वीराज कपुर हुन्, जसले भारतमा थिएटरलाई नयाँ आयाम दिए। यसैले पनि शम्मी कपुरलाई थिएटरको कला विरासतमा प्राप्त भएको थियो। जस्तो कुनै पसल थापिरहेका बाबाको पेशालाई छोराले अघि बढ़ाउँछ। सानै उमेरमा शम्मीले थिएटरका गूढ़ताहरू बुझ्न थालेका थिए।
शुरुमा शम्मी कपुर एयरोनोटिकल इन्जिनियर बन्न चाहन्थे, तर अभिनेता बने। उनले समयमै बुझेका थिए एयरोनोटिकल इन्जिनियर बन्नु उनको क्षमताको कुरा होइन। यसैले पनि शम्मी कपुरले बाबुकै बाटो हिँड़्दै करिअरलाई थिएटर लगेर गतिशील बनाए।
कुरा सन् 1953-को हो। शम्मीले पहिलोपटक बलिवुडमा पाइला राखे। सन् 1953 देखि 57 -सम्म उनले धेरै फिल्म खेले, तर यी सबै फिल्म फ्लप भए। उनको बारे कुरा चल्थ्यो, शम्मीले आफ्ना बाबाको नक्कल गर्छन्। यो कुराले उनलाई भित्रबाटै विचलित बनायो। त्यसपछि उनी एक नयाँ अन्दाज विकसित गर्ने कोशिशमा जुटे।
नरगिसको वचन र पश्चिमी सङ्गीत
यसैबीच उनीसँग एक घटना घट्यो, जुन घटनाले उनलाई एक छुट्टै शैली विकसित गर्नमा धेरै मद्दत गऱ्यो। घटना के थियो भने नरगिसले त्यस समय राज कपुरसँग फिल्म ‘बरसात’-को सुटिङ गरिरहेकी थिइन्। राज कपुरले यसपछि ‘आवारा’ फिल्म बनाउन चाहन्थे। नरगिस यसमा आफू हिरोइनको रूपमा अभिनय गर्न चाहन्थिन्। शम्मी त्योसमय बिस्तारै जवानीतिर बढ़िरहेका थिए।
नरगिसले ‘आवारा’-मा आफूलाई हिरोइनको अभिनय प्राप्त हुनका लागि प्रार्थना गरिदिने शम्मीसँग अनुरोध गरिन्। यदि आवारामा हिरोइनको भूमिका प्राप्त भएमा शम्मीलाई किस गर्ने उनले वचनसमेत दिएकी थिइन्। साँच्चै फिल्म आवारामा उनले नै हिरोइनको रोल पाइन्। पछि शम्मी कपुरले नगरगिसलाई किसको वचन स्मरण गराउँदा नगरगिस वचनबाट टाढ़ा भागिन्। त्यस समयमा किसको सट्टा नगरगिसले शम्मीलाई अङ्ग्रेजी सङ्गीतका 20 वटा क्यासेट दिइन्।
यो अङ्ग्रेजी रक सङ्गीत सुनेपछि शम्मीलाई लाग्यो, यसको प्रयोग अभिनयमा गर्दा कतै राम्रो त हुँदैन। लगातार फिल्म फ्लप भएपछि शम्मीलाई एक हिट फिल्मको आवश्यकता थियो, यो त्यतिबेला सम्भव थियो, जतिबेला उनले अभिनयमा फरकपन ल्याउनेछ। सन् 1957 –मा फिल्म ‘तुमसा नहीं देखा’-मा काम गर्ने उनले अवसर पाए। यो फिल्ममा काम गर्नअघि यदि यो फिल्म फ्लप भए, सधैँका लागि सिनेमा जगतबाट सन्न्यास लिने उनले घोषणा गरेका थिए। तर यस्तो भएन। यो फिल्म हिट भयो।
‘तुमसा नहीं देखा’ ब्लकबस्टर साबित भयो। यो फिल्ममा शम्मीको नयाँ अभिनय शैलीलाई सबैले प्रशंसा गरे। यो फिल्मपछि उनले आफ्नो नयाँ अन्दाजले बलिवुडमा विद्रोह नै गरे। उनको तारोमा त्यस समयमा तीन ठूला सुपरस्टार क्रमैले दिलीप कुमार, देव आनन्द र राज कपुर थिए। शम्मीले आफ्नो पागलनपनपूर्ण साङ्गीतिक अन्दाजले यी तीनै सुपरस्टारलाई पछि छोड़ेर बलिवुडका नयाँ सुपरस्टार बनिए।
फरक डान्स स्टाइल
शम्मी कपुरले आफ्नो प्रत्येक सीनलाई पुनर्गठन गरे। उनले आफ्नो स्टाइल परिवर्तन गरे। साथै विदेशी कपड़ा लगाए। प्रत्येक एक्टमा असीमित ऊर्जा खर्चिए। उनका दाजु राज कपुर यदि 60-को दशकमा एक आदर्श नेहरूवादी हिरोको भूमिकामा देखिन्थे भने शम्मी यसको ठीक विपरीत यस्ता आवारा हिरोको रूपमा देखिए, जसको एकमात्र लक्ष्य नाचेर-गाएर हिरोइनलाई रिझाउनु थियो।
शम्मीले यसपछि खेलेका एकपछि अर्को फिल्म हिट भयो। यी फिल्महरूमा ‘जङ्गली’, ‘तीसरी मंजिल’, ‘ब्लफमास्टर’, ‘चाइनाटाउन’ र ‘कश्मीर की कली’ मुख्य थिए। यी फिल्महरूको महत्त्वपूर्ण कुरा भनेकै शम्मी कपुरको अभिनय शैली प्रत्येक फिल्मसँगै विकसित हुँदै गयो। अनुहारमा एकैक्षणमा बद्लिने भाव, ऊर्जाले परिपूर्ण एक्टिङ, उल्लासित डान्स स्टाइल र रोमान्टिक आवाजको सहाराले शम्मीले बलिवुडमा अभिनयको प्रतिमानलाई परिवर्तन गरे। यसै शैलीले उनलाई भारतका एल्विस प्रेस्ले भनिन्थ्यो। 60 को दशकमा उनी आफ्नो फिल्मी करिअरको स्वर्णिम उँचाइमा पुगे।
आफ्नो यसै अन्दाजको कारण शम्मी सुटिङको समय धेरैपटक घाइते पनि भए। यसै एक्टिङको कारण डाक्टरले उनलाई फिल्मबाट टाढ़ा बस्ने धेरैपटक सल्लाह दिए। यो सल्लाहलाई मानेर उनी केही वर्ष फिल्मबाट टाढ़ा बसे। शाहरूख खानले जसरी दिलीप कुमारको विरासतलाई अघि बढ़ाए, त्यसरी नै जीतेन्द्र र गोविन्दाले शम्मी कपुरको विरासतलाई अघि बढ़ाए। शम्मी कपुरको फिल्ममा कुनै सन्देश नभए तापनि फिल्ममा सुखद अन्त भने अवश्यै हुन्थ्यो। 60 –को दशकमा जब राष्ट्र-निर्माणको भावना सर्वव्यापी थियो, त्यसबेला दर्शकहरूले उनको उल्लासित अन्दाज धेरै रुचाए। उनीहरूले शम्मी कपुरलाई आफ्नो आँखामा राखे। यसको सट्टामा शम्मीले उनीहरूलाई धेरै मनोरञ्जन दिए।
यी फरक शैलीका ‘जङ्गली’ सुपरस्टारको मृत्यु 14 अगस्त 2011-मा भयो। उनको मृत्युसँगै भारतीय सिनेमाको एक युगको अन्त्य भयो।