दार्जिलिङ, २९ अगस्तः अजय एड्वर्डले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-बाट राजीनामा दिएका छन्।
उनले आज राजीनामा दिएका हुन्।
गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्षसमेत रहेका अजय एड्वर्ड केही दिन अघिदेखि गोरामुमोप्रति असन्तुष्ट थिए, जसका कारण उनी पार्टीबाट टाढ़ा बसेका थिए।
यसैले उनले गोरामुमो छाड़्ने चर्चा चुलिएको थियो भने केही दिनअघि भोइस क्लिप जारी गरी उनले गोरामुमो छाड़्ने बताएका थिए। त्यस भोइस क्लिपमा उनले विशेषगरी गोरामुमो अध्यक्ष मन घिसिङले आफूलाई धोका दिएको, यतिका समयसम्म प्रयोग गरेको मात्र बताएका थिएनन्, तर पछिल्लो चुनाउमा पैसाको चलखेल भएको दावीसमेत गरेका थिए।
यसैबिच दुई दिनअघि मात्र अजय एड्वर्डलगायत केही अन्यलाई गोरामुमोको मिडिया सेल वाट्सएप ग्रुपबाट हटाइएको थियो।
अजय एड्वर्डले आज आधिकारिक रूपमा पार्टी छाड़ेपछि गोरामुमोलाई ठूलो झट्का लागेको छ।