गक्रायुमोको टेक-छुट्टै राज्य गोर्खाल्याण्ड

0
966

दार्जिलिङ, २९ अगस्तः आउँदो त्रिपक्षीय वार्तामा केवल छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा बहस हुनुपर्ने क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-को युवा एकाइ गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा (गक्रायुमो)-को टेक छ।

गक्रायुमोका अनुसार पार्टीको टेक त्रिपक्षीय वार्तामा यही रहनेछ।

आज गक्रायुमोको केन्द्रीय कमिटीको सभा दार्जिलिङस्थित पार्टी मुख्यालयमा बसिएको थियो। उक्त सभामा उल्लिखित प्रस्ताव ग्रहण गरिएको हो।

यति मात्र होइन, स्थायी राजनीतिक समाधानबारे त्रिपक्षीय वार्ता डाक्ने केन्द्र सरकारको निर्णयलाई गक्रायुमोले स्वागत गर्दै उक्त त्रिपक्षीय वार्ता बङ्गालबाहिरका व्यवस्थाका लागि हुनुपर्ने माग पनि गरेको छ। साथै वार्तालाई सफल बनाउन सम्पूर्ण राजनीतिक दललाई आह्वान पनि गरेको छ।

अर्कोतिर आजको सभामा वित्त मन्त्रालयले दार्जिलिङ हिमालयन रेलवेलाई मुद्रीकरण गर्ने निर्णयमाथि चर्चा गरेको थियो।

‘मुद्रीकरणले दार्जिलिङ रेलवेको गरिमा, विश्व धरोहरको मर्यादा र अस्तित्वमाथि आँच आउनु हुँदैन। साथै यसका कर्मचारी श्रमिकहरूका हक र अधिकार लुटिनु हुँदैन’, गक्रायुमोले भनेको छ, ‘दार्जिलिङ रेल पहाडको परिचय र भावनासँग सम्बन्धित रहेको छ। यद्यपि दार्जिलिङ रेलवेको विकास पनि उतिकै ठान्छ।‘

यसैगरी जीटीएका पूर्व चेयरम्यानले नै जीटीएमा प्रचुर भ्रष्टाचार भएको खुलासा गरेपछि जनताका लागि आएका राशिको भ्रष्टाचार गर्नेहरूविरुद्ध कडा कारबाही गर्न उच्चस्तरीय जाँच हुनुपर्ने माग गर्नका साथै जनसुविधाका लागि राज्य सरकारले थालेको एकदिने द्वारे सरकार कार्यक्रमले जनसाधारणका समस्या समाधान नहुने भन्दै ग्राम पञ्चायत र नगरपालिकालाई अधिक क्षमतावान बनाउनुपर्ने थप माग पनि गरेको छ।

अर्कोतिर, गक्रायुमोको साङ्गठनिक सम्मेलन सेप्टेम्बर महिनाको अन्तिम साता गर्ने निर्णय लिँदै सभामा वीरेन्द्र गिरीको संयोजकत्वमा दश सदस्य प्रस्तुति कमिटी पनि गठन गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here