कृतिका दाहाल |
म ब्याक सिटमा थिएँ
ऊ फ्रन्टमा
मैले देख्नुदेखाउनु
केही चासो मानिनँ
केही भन्नुसुन्नु
जस्तोपनि थिएन
न केही लिनुदिनु थियो
हठात् उसले पछि फर्केर हेर्यो
मेरोपनि नजर
उसका आँखामा पुगेछ
आँखाआँखाको
सिभिलाइजेसन
कस्तो अचम्म
त्यो एक झिमिकपनि
मलाई शताब्दी लाग्यो
त्यो आँखा
आँखा होइन तर
मलाई मेरो ब्रह्माण्ड।
न उसले केही बोल्यो
न मैले,
हल्ला त आँखाले गरिरहेको थियो
मेरोले अघिको सिटमा
उसकोले पछिको सिटमा।
आँखा यो आँखा
कस्तो बिद्रोही बन्नेछ
कसरी लापर्वाह बन्नेछ
आँखा तल्लीन थिए
गफगाफमा
यत्ति तल्लीन
यत्ति तल्लीनकि
न मेरो आँखाले उसको छेउमा बसेको श्रीमति देख्यो
न उसको आँखाले मेरो छेउमा बसेको मेरो छोरा!