कोमल केरुङ सुब्बाकृत आठौं रङको लाछाको विमोचन

0
1577
आठौं रङको लाछाको विमोचन गरिँदै।

खरसाङ, २८ सेप्टेम्बर : कोमल केरुङ सुब्बाकृत आठौं रङको लाछा बजारमा आएको छ। १२ वटा विविध भावका कथाको सङ्ग्रह आठौं रङको लाछा युवा कथाकार सुब्बाको पहिलो कथा सङ्ग्रह हो।

शनिवार स्थानीय गोर्खा जनपुस्तकालयको पारसमणि प्रधान प्रेक्षागृहमा एक साहित्यिक कार्यक्रमबीच उक्त कथा सङ्ग्रह विमोचन भएलगत्तै उज्यालो सम्भावना बोकेकी २५ वर्षीय कोमलले आफैलाई भारतेली नेपाली कथा साहित्यमा दह्राएकी छन्।

वरिष्ठदेखि कनिष्ठसम्मका साहित्यकार र साहित्यानुरागीहरूको उपस्थितिबीच वरिष्ठ साहित्यकार गुप्त प्रधान, प्रा. डा. कविता लामा, समाजसेवी तिलक शर्मा, गोजपुका पूर्व अध्यक्ष रविन कुमार प्रधान, कथाकार, उनका आमा-बाबा, साहित्यकार वीरेन्द्र अबजस, गोजपुका मूलसचिव विनोद रसाइली र टिस्टाभेल्ली उच्च माध्यमिक विद्यालयकी शिक्षिका कल्पना गुरुङ आदिको करकलमबाट उक्त कथा सङ्ग्रहको विमोचन गरिएको हो।

गोजपुका महासचिव विनोद रसाइलीले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सिक्किम विश्वविद्यालयकी डीन कविता लामा उपस्थित थिइन्। विमोचित कथा सङ्ग्रहबारे वरिष्ठ कथाकार गुप्त प्रधानले समीक्षात्मक टिप्पणी राखे।

अहिलेघरी युवा सर्जकहरूको कथामा सुखद उपस्थिति देखिएको तथा कोमलले पहिलो कथा सङ्ग्रहमार्फत् उज्यालो उपस्थिति देखाएको बताए।

बनाइ र बुनाइको राम्रो संयोजनले कथा उत्कृष्ट बन्छ। कोमलका कथाहरूले बनाइ र बुनाइको राम्रो संयोजनको सम्भावना बोकेका छन्’, प्रधानले थपे, यिनले कथाहरू निरन्तर लेखिरहनुपर्छ। कथामा कोमलको भविष्य उज्यालो छ।

भारतेली नेपाली साहित्यमा स्मरणीय र सम्मानित व्यक्तित्व गुप्त प्रधानले आठौं रङको लाछामा समाविष्ट एकेक कथाबारे संक्षिप्त रूपमा केलाएका थिए। प्रधानले कोमलको कथाकारिताबारे मिहिन रूपले प्रकाश पारे। साथै कथा लेखनलाई निष्ठा र अध्ययनशील भएर जारी राख्ने सुझाए।

त्यसैगरी आफ्नो सम्बोधनमा कथाकार कोमल केरुङ सुब्बाले कथा लेखनको पृष्ठभूमि बताए। यसअवधि उनले टिस्टाभेल्ली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक स्व. पुष्पेन्द्र गुरुङलाई सम्बोधनमा राख्दै उनैको प्रेरणाले आफू साहित्य लेखनको क्षेत्रमा अग्रसर भएको बताइन्।

कार्यक्रमकै अवसरमा युवा कवि शरण मुस्कानको एकल कविता वाचन र संवाद पनि सम्बोधन भएको थियो। जसअन्तर्गत उनले छोटा-लामा सातवटा कविता वाचन गरे। एकल कविता वाचनमा सहजकर्ता प्रदीप शेर्पा थिए।

अर्कोतिर कार्यक्रमकी प्रमुख अतिथि कविता लामाले विमोचित कृति र एकल वाचनबारे आफ्नो मन्तव्य पोखिन्। डा. लामाले अहिलेघरी भारतीय नेपाली साहित्यमा युवाहरूको उपस्थिति बलियोसँग देखिएको  बताइन्। उनले युवाहरूलाई समयसचेत हुने सुझाइन्। साथै कोमलको कथा जनजातीय चेतना बलियोसँग आएको बताइन्।

गजलकार पी. लक्की शेर्पाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण कवि-गीतकार बालकृष्ण थामीले तथा कथाकारको परिचय वीरेन्द्र अबजसले राखेका थिए।

उल्लेखनीय छ, कथाकार कोमल केरुङ सुब्बा टिस्टाभेल्ली चियाकमाननिवासी हुन्। नेपाली-भाषा साहित्यमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी उनले पछिल्ला ६-७ वर्षको अवधिमा लेखिएका १२ वटा कथालाई एकमुष्ठ गरी पुस्तकको रूपमा आठौं रङको लाछा प्रकाशित गरेकी हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here